हेटौंडा ६ जेठ । हेटौंडामा बागमती प्रदेश राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको मतदान जारी छ । राष्ट्रियसभाको रिक्त एक सदस्य पदको लागि प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयको भवनमा बिहान ९ बजेबाट मतदान जारी रहेको हो ।
मतदानका लागि राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन अधिकृतको कार्यालय र बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर मतदान प्रक्रिया जारी राखेको छ ।
मतदानका लागि विद्यालयको गेट नम्बर २ बाट मतदान स्थलको प्राङ्गणमा प्रवेश गराइ मतदान स्थल बाहिर मतदातालाई होल्डिङ गर्ने र लाइन मार्फत विद्यालयको गेट नम्बर ४ मा मेडिकल डाक्टरसहितको हेल्थ डेस्कको स्थापना गरिएको छ ।
उक्त गेटमा ज्वरो नाप्ने, सेनिटाइजर, मास्क, प्रयोग गर्ने लगाउने, मतदाता नामावली चेकजाँच गर्ने काम गरेर मतदानका लागि प्रवेश गराउने व्यवस्था गरीएको छ ।
पिसिआर नगरेका मतदाताहरूले परिक्षण गर्न चाहेमा मतदान स्थलमा नै एन्टिजेन प्रविधिबाट कोरोना परिक्षण गने व्यवस्था गरिएको छ ।
निर्वाचन कार्यालयले ३ वडा मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था गरिएको छ ।
स्थानीय तहका प्रतिनिधि र प्रदेशसभाका प्रतिनिधिका लागि छुट्टै मतदान केन्द्रमा मत दिने व्यवस्था मिलाइएको छ भने संक्रमित मतदाताहरुको लागि विषेश मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
प्रदेशसभा सदस्यका लागि विद्यालयको दक्षिणतर्फबाट २ मिटरको दूरी कायम गर्ने गरी लाइनमा पूर्वतर्फ रहेको मतदान केन्द्रमा मतदान गर्न पठाइन्छ र पूर्वतर्फको गेट नम्बर ५ बाट बाहिरिने व्यवस्था रहेको छ ।
स्थानिय तहका प्रतिनिधिहरुको लागि भने विद्यालयको पूर्वतर्फबाट लाइनमा प्रवेश गराई उत्तरमा रहेको मतदान केन्द्रमा पठाइन्छ र मतदान सम्पन्न भए पश्चात फर्काएर पूर्वतर्फको गेटबाट बाहिरिने व्यवस्था रहेको छ ।
संक्रमितहरुका लागि भने विद्यालयको १ नम्बर गेटबाट प्रवेश गराएर पूर्वमा रहेको मतदान केन्द्रमा मतदान गर्ने र सोही मार्गबाट बाहिरिने व्यवस्था गरिएको छ । हेटौडामा हल्का वर्षा भइरहेको छ। वर्षाका बीच मतदान जारी छ ।


