काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) मन्त्रिपषिद् बैठक बोलाएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले आज दिउँसो बस्ने पार्टीको स्थायी कमिटी बैठक सकिए लगत्तै बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
आज दिउँसो २ बजे एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दैछ । त्यो सकिए लगत्तै साढे २ बजे बस्ने गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकको विषयवस्तु भने खुलाइएको छैन । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन चलिरहेकै बेला प्रधानमन्त्री ओलीले एकैसाथ पार्टी र मन्त्रिपरिषदको बैठक बोलाउनुलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
संसदमा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा पुनः प्रधानमन्त्री बनेका ओलीले चाँडै विश्वासको मत लिने तयारी पनि गरिरहेका छन् । यसअघि गत वैशाख २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदा बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले विपक्षी दललाई बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएकी थिइन् ।
तर उनीहरूले बहुमत जुटाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार वैशाख ३० गते राति ओली नै पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । यसरी बनेको प्रधानमन्त्रीले ३० दिनभित्र फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।


