स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो ।मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यो दुवै भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनिन्छ ।
हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको छ । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि नयाँ भेरियन्ट चिन्ताको विषय भएको बताउँछन् । ‘यो भेरियन्टले भारतमा जुन गतिमा संक्रमण फैलियो र तहसनहस बनायो । नेपालमा पनि त्यसको संकेत देखिएको थियो,’ डा. पुन भन्छन्, ‘त्यो पुष्टि हुनु हाम्रा लागि चिन्ताको विषय हो ।’
हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको विज्ञप्ति 


