चितवनका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

 

चितवन ४  जेठ । कोरोना संक्रमित विरामी चाप वृद्धि भएपछि चितवनका अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ ।

स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्रीदेखि विरामीलाई दिनेसम्मको सामग्री अभाव हुन थालेपछि दाताहरुले सहयोग गर्न थालेका छन् । अक्सिजनको अभाव हुन थालेपछि सामाजिक संघसस्था तथा विदेशमा वस्ने नेपालीहरुले सहयोग गर्न थालेका हुन् ।

यसै गरी चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई रु.१० लाख ७५ हजार बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाले तीन चरणमा गरेर ६० वटा अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष पूर्णनाथ घिमिरेका अनुसार ५० वटा अक्सिजनसहितको सिलिण्डर खरिद गरेर र १० वटा धरौटीमा अस्पताललाई उपलब्ध गराईएको हो । धरौटीमा रहेका १० वटा पनि खरिद गरी अस्पतालकै स्वामित्वमा हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

संस्थाले मंगलबार थप २० वटा सिलिण्डर हस्तान्तरण गरेसँगै अस्पताललाई दिईएको संख्या ६० पुगेको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीलाई ती सिलिण्डर हस्तान्तरण गरिएको हो । सो अवसरमा तिवारीले अस्पताललाई अत्यावश्यक पर्ने सिलिण्डर हस्तान्तरण गरेकोमा अष्ट्रेलियामा बसोबास गर्ने चितवनवासीलाई विशेष धन्यवाद दिनुभयो ।

घिमिरेका अनुसार त्यहाँ रहेका चितवनवासीले आर्थिक संकलन गरेर अक्सिजन खरिदका लागि सहयोग गरेका हुन् । उनीहरुले यस अघिका विपत्तीहरुमा पनि नेपालमा तत्काल आवश्य वस्तुहरु खरिद गरी सहयोग गर्दै आएका थिए । समाजले संस्थाका संरक्षक केशब प्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्ताैला, सिता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग जुटाएको हो ।

 

लायन्स क्लबको अस्पताललाई सहयोग

लायन्स क्लबले भरतपुर अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र मध्यविन्दु अस्पताल कावासोतीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबले हाइफ्लो अक्सिजन मेसिन दुई थान र बिप्याप मेसिन पाँच थान सहयोग गरेको हो । शव व्यवस्थापनका लागि क्लबले एक महिनाका लागि शव वहान समेत हस्तान्तरण गरेको छ ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु एरिया नं. ३ का क्लब तथा लायन्सहरुबाट कोभिड क्याम्पियन गरी संकलन रकमबाट ती सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो । मंगलबार भरतपुर अस्पताललाई दुई थान हाईफ्लो अक्सिजन मेसिन र दुई थान बिप्याप मेसिन हस्तान्तरण गरिएको छ । ती सामग्री लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बिटुका ईलेक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले कोभिडको पहिलो लहरसँगै लायन्सहरु सहयोगमा जुटेको उल्लेख गर्दै गतवर्ष विभिन्न ठाउँमा रु.१ करोड बराबरको सहयोग गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो गतवर्ष लायन्सहरुले व्यक्तिगत र संस्थागत रुपमा खाद्यान्नदेखि विभिन्न सहयोग गर्नुभएको छ । त्यसको कुनै हिसाब छैन ।

उहाँले दोस्रो लहरसँगै लायन्सहरु आर्थिक संकलनमा जुटेको बताउँदै यस क्षेत्रका अस्पतालहरुमा अति आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले कोभिड महामारीमा उपलब्ध सामग्री सन्जीबनीबुटी सावित हुने बताउनुभयो ।

यसैगरी वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा दुई थान बिप्याप मेसिन हस्तान्तरण गरियो । अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्मालाई अस्पतालमै पुगेर ईलेक्ट गभर्नर भट्टले ती सामग्री हस्तान्तरण गर्नुभएको हो । यस्तै कावासोतीको मध्यविन्दु अस्पताललाई पनि एक थान बिप्याक मेसिन आजै हस्तान्तरण गरिएको छ ।

चितवनका अस्पतालहरुमा कोभिडबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि क्लबले शव वहान उपलब्ध गराएको छ । गभर्नर भट्टले एक महिनाका लागि शव बोक्ने गाडीको चापी कालिबहादुर गण भरतपुरलाई हस्तान्तरण गर्नुभयो । हाल शव व्यवस्थापन मृतकका आफन्तले चर्काे खर्च व्यहोर्नु परेको गुनासो आएपछि क्लबले शव वहान उपलब्ध गराएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले सरोकारवाला पक्षसँग छलपल गरी सहयोगका लागि अनुरोध गरेसँगै लायन्सले शव वहाल सहयोग गरेको हो ।

शेयर गरौ

ताजा अपडेट