सुरेश कोइराला
चितवन । कोभिड–१९ को माहामारी ह्वात्तै बढेपछि चितवन प्रहरीले शान्ति सुरक्षा तथा हिडडुल गर्न अझ कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरिक्षक ओम अधिकारीले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आम जिल्लाबासीलाई अुनरोध गर्दै सजक हुँदै सहज दैनिकीका साथ घरमै बसिदिन आग्रह गर्नुभएको हो ।
पछिल्लो समय चितवनमा पनि कोभिडको प्रभाव बढ्न थालेपछि उहाँले जिल्ला नाका कडाइ गर्नुका साथै आपतविपद् परेकालाई घरदैलो सेवा उपलब्ध गराइरहनु भएको छ । ‘कोभिडको माहामारी भयावह भएपछि आम नागरिकहरूलाई घरमै बस्न हामीले आग्रह गरेका छौं,’ उहाँले भन्नु भयो ‘हामीले यो माहामारीमा मुस्कानसहितको सेवा दिन खोजिरहेका छौ ।’
यो अप्ठ्यारो परिस्थितिलाई मध्येनजर गदै नेपाल प्रहरी जिल्लाबासीको सेवामा समर्पित भएको बताउनु भयो । उच्च मनोबलका साथ घरमै बस्न आग्रह गर्दै कुनै समस्या आएमा प्रहरी सधै तपाईहरूको साथमा रहेकाले नआतिन समेत उहाँले अनुरोध गर्नुभएको छ ।
कठिन परिस्थितिमा आम नागरिकलाई सेवा दिन टोली खटाएर काम गरिरहेको उहाँले बताउनु भयो । कोभिड संक्रमित विरामीहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउँदै अस्पताल पुर्याउन विभिन्न संघ संस्थासँग समन्वय गरी एम्बुलेन्स सेवा पनि दिदै आएको छ । उक्त कार्यका लागि चितवन प्रहरीले जिल्ला प्रशासन कार्यालयदेखि जनप्रतिनिधीहरूसँग समन्वय गरिरहेको छ ।
यसबीचमा अपराधिक तथा सामाजिक क्रियाकलाप बढ्न सक्ने भएकोले मोबाइल गस्ती पनि प्रहरीले उत्तिकै तदारुक्त्ता देखाएको छ । सवारी साधानमा चेक जाँच गर्नदेखि अन्य सबै काममा प्रहरीले निरन्तर रुपमा सेवा दिइरहेको चितवन बासीले महसुस गरेका छन् ।
