काठमाडौँ । एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले परिस्थिति हेरेर भावी सत्तासमीकरणबारे थप निर्णय लिने भएको छ । मंगलबार खनाल र नेपाल समूहको झण्डै चार घण्टा भर्चुअल छलफलपछि परिस्थिति हेरेर निर्णय लिने निष्कर्ष निकालेको हो ।
साथै यो समूहले नयाँ सरकार गठनमा आफूहरुको निर्णायक भूमिका नरहने पनि बताएको छ । परिस्थिति हेरेर स्थायी कमिटी र प्रतिनिधिसभाका सदस्यहरुको छलफलबाट आवश्यक निर्णय लिने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिनु भयो ।
छलफलमा विश्वासको मतमाथि सोमबार संसद्मा भएको मतदानमा अनुपस्थित हुने निर्णयको समीक्षा भएको थियो । भुसालका अनुसार सोमबार संसद्मा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन नजानु सही निर्णय भएको छलफलको निष्कर्ष छ । ‘हामीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने अवस्था थिएन । त्यसैअनुसार आइतबार संसद बैठकमा सहभागी नभएर सही निर्णय गरेको हाम्रो निश्कर्ष छ,’ भुसालले भने । आइतबार खनाल नेपाल समूहका २८ सांसद संसद बैठकमा अनुपस्थित भएका थिए ।
खनाल–नेपाल समूहको छलफलको प्रधानमन्त्री ओली नेतृत्वलाई जोगाउन भारत खुला रुपमा आएको निष्कर्ष छ । भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले एक ट्वीटमार्फत् भारतको रोजाई ओली भएको बताएको प्रसंग उल्लेख गर्दै समूहका एक नेताले भन्नु भयो, भारत त खुलै रुपमा ओलीको पक्षमा आएको छ । भारतको सत्तारुढ दलका नेताहरुले सार्वजनिक रुपमै त्यो कुरा प्रकट गर्न थालेका छन् ।ु