संघीय सरकारद्धारा १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बैतडी, ५ फागुन ः सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवं प्रदेशमार्फत सिफारिशबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको हो ।
सुदूरपश्चिमका सात स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको मन्त्रालयल जनाएको छ ।
बैतडीको सिगास गाउँपालिकाको केन्द्र साविकको शिवलिङ्ग गाविसको गर्जे कायम गरिएको छ । यसअघि उक्त गाउँपालिकाको केन्द्र गर्जे अथवा गाँजरी राख्ने भन्ने निर्णय भएको थिएन । सबैलाई पायक पर्ने र बीच केन्द्र भएकाले गर्जेमा केन्द्र राख्ने निर्णय गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो ।

दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडाबाट सारेर होपरीगाड र लेकम गाउँपालिकाको केन्द्र रातामाटा तोकिएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सल्ला–बान्चौर कायम गरिएकोे छ ।

यस्तै, बझाङको काँडा गाउँपालिकाको नाम साइपाल, डोटीको वोगटान गाउँपालिकाको नाम वोगटान–फुड्सिल, सायल गाउँपालिकाको केन्द्र ओमनगर राखिएको छ ।

बाजुराको पाण्डवगुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डी, स्वामीकार्तिक गाउँपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाइ, छेडेदह गाउँपालिकाको नाम खप्तड छेडेदह गाउँपालिका कायम गरिएको छ । हिमाली गाउँपालिकाको केन्द्र बाँधु धुलाचौर तोकिएको छ । (रासस)

ताजा अपडेट