गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग

 

चितवन २० वैशाख । चितवन समाज जापान क्षेत्रीय समिति ओशाका कान्साई परिवारद्वारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

चितवन समाज जापानका अध्यक्ष मुक्तिराम खरेलको संयोजकत्वमा सङ्कलित रकमको चेक गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा परिसरमा आज सोमवार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई १० लाखको चेक हस्तान्तरण गरिएको हो ।

सहयोगको चेक हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य एवम् क्षेत्रीय समिति कान्साईका संरक्षक तुल्सीराम खरेलले राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न अनवरत रूपमा लागिरहनुभएका धुर्मुस सुन्तली फाउण्डेशनलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सहयोगीहरुले उपलब्ध गराइएको चेक ग्रहण गर्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले सबैको सहयोगबाट नै राष्ट्रिय गौरवको आयोजना निर्माण भइरहेको जानकारी दिनुभयो । नेपालीको सहयोगबाट नै यो अभियान सम्पन्न हुने भएकोले राष्ट्रिय गौरवको आयोजनालाई सफल बनाउने काममा लाग्न देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गर्नुभयो । यो अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

चितवन समाज जापान क्षेत्रीय समिति ओशाका कान्साईका संयोजक भुमप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारी, चितवन समाज जापानका उपाध्यक्ष ईश्वरीप्रसाद कंडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा चितवन समाज जापानका बाबुराम खरेल,चेतराम गैरे, रामप्रसाद खरेल, डिलाराम गैरे, लक्ष्मण गैरे,ईश्वरी कंडेल, माधवप्रसाद पौडेल, गोपाल कंडेल लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका सदस्य दिपक गौतमले गर्नुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट