चितवन समाचारडटकम, १३ बैशाख । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगाेपाल श्रेष्ठले फ्लाेर क्रस गरेर सरकार गिराउने चलखेल भईरहेकाे दाबी गर्दै पार्टिमा माधव समुहले “आत्मघाती बम” पड्काउने प्रयास गरेको आराेप लगाउनुभएकाे छ । नेकपा एमाले चितवनले २२ अाैं मनमाेहन स्मृति दिवसका अवसरमा आज भरतपुरमा आयाेजना गरेको कार्यक्रममा बाेल्दै मन्त्री श्रेष्ठले साे कुरा बताउनुभएको हाे । बर्तमान सरकार यसको नेतृत्व जनताकाे मनमा बसेकाे मन्त्री श्रेष्ठले बताउनुभयाे । आफ्नो पार्टीकै नेतृत्वमा रहेकाे सरकार ढाल्न कर्णाली प्रदेशमा झै संघमा पनि माधव-झलनाथ समूह सक्रिय रहेकाे र त्याे कदम भनेकाे आत्मघाती बम पड्काउने कदम हाे- मन्त्री श्रेष्ठले भन्नुभयाे । कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य समेत रहेका मन्त्री श्रेष्ठले नेपालकाे राजनीतिमा नेता मनमाेहनकाे याेगदान अतुलनीय रहेको बताउनुभयो । मनमाेहन जनताका प्रिय नेता रहेकाे श्रेष्ठले उल्लेख गर्नुभयो । ०५१ सालमा पहिलाे जननिर्वाचित नेपालकाे कम्युनिस्ट प्रधानमन्त्री बन्नुभएका मनमाेहन अधिकारीकाे नेतृत्वको सरकार सर्वाधिक लाेकप्रिय सरकार रहेकाे उहाँले स्पष्ट पार्नुभयाे । कार्यक्रममा मन्त्री श्रेष्ठले काेराेना नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताउनुभयो । जनताको जिउ ज्यानकाे सुरक्षा पहिलो प्राथमिकता रहेकोले बिधालय बन्द गर्ने निर्णय लिईएकाे शिक्षा मन्त्री श्रेष्ठकाे भनाइ थियाे । दिवसका अवसरमा जिल्ला अध्यक्ष दिलकुमारी रावल पार्बतीकाे अध्यक्षतामा भएको मनमाेहन स्मृती कार्यक्रममा एमाले नेता पुरुषाेतम न्याैपानेले नेपाली राजनीतिमा स्वर्गीय मनमाेहनकाे याेगदानबारे चर्चा गर्नुभएको थियोे । जिल्ला अध्यक्ष रावलले नेता मनमाेहन अधिकारीकाे आदर्श ब्यवहारमा उतार्नु अहिलेकाे आवश्यकता रहेकाेमा जाेड दिनुभयो । कार्यक्रममा प्रदेश सभाका सदस्य कृष्ण भुर्तेल, केन्द्रीय सदस्य कपिल पाेख्रेल, पार्टीका भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्याैपाने लगायत उपस्थित हुनुहुन्थ्यो ।


