मनोज विष्ट
चितवन , ५ बैशाख । चितवनकाे माडीमा बैशाख ८ गते भगवान राम,सीता,लक्ष्मण र हनुमानकाे मुर्ति स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
अयाेध्याधाम व्यवस्थापन समितिले आज भरतपुरमा पत्रकार सम्मेलन गरि मुर्ति स्थापना गर्न मन्दिर निर्माण गरिएको र अयाेध्यापुरी क्षेत्रमा करिब सय बिगाह जमिन व्यवस्थापन गरिएको जानकारी गराएको हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका दिन भगवान रामकाे जन्म माडीको अयाेध्यापुरी क्षेत्रमा भएको भनी अभिव्यक्ति सार्वजनिक गरेपछि यसबारे चासो र चर्चा चुलिएको हाे । अयाेध्याधामकाे अवलोकन गर्नेहरूको संख्या दिनानुदिन बढ्दै गएकाले तत्काल मन्दिर निर्माण गरि मुर्ति स्थापना गर्न लागिएको समितिका सदस्य श्री प्रसाद दुवाडिले बताउनुभयो ।
प्रधानमन्त्री निवासमा तयार गरेर राखिएका मुर्तिहरु बेैशाख ७ गते बग्गी र रथसहितकाे पाँच सय भन्दा बढि सवारी साधनहरुकाे लस्कर सहित चितवन ल्याउने तयारी रहेको समितिका संयाेजक तीर्थ भुषालले जानकारी दिनुभयो । साझ देवघाट ल्याईपुर्याई बैशाख ८ गते पिठाधिसहरुकाे उपस्थितिमा जलाभिषेख गरि माडी लैजाने तयारी छ । माडीमा प्रदेश सरकारका मुख्य मन्त्री डाेरमणि पाैडेल आउने कार्यक्रम छ । तत्कालका लागि ११ लाखकाे लागतमा माडी नगरपालिका वडा नम्बर ९ मा निर्माण गरिएको मन्दिरमा मुर्ति स्थापना गरिनेछ । करिव चार अर्वकाे लागतमा माडी नगरपालिकाले उपलब्ध गराएकाे सय बिगाहकाे जमिनमा राम मन्दिर गुरुयोजनालाई ब्यवस्थित गर्ने याेजना बनाईएकाे समितिले जनाएको छ । पत्रकार सम्मेलनमा बागमती प्रदेश सभाका सदस्य बिजय सुवेदीले माडी नगरपालिकाले गरेको सिफारिसका आधारमा धामका लागि सरकारबाट आवश्यक जग्गा उपलब्ध हुने स्पष्ट पार्नुभयाे । सरकारले अब आउने बजेटमा ब्यवस्था गरेर १९ महिना भित्र गुरुयोजना अनुसारको मन्दिर निर्माण गर्ने सुवेदीले जानकारी दिनुभयो । नेपाललाई संसारभर थप परिचित गराउन यस अभियानले ठुलो मद्धत पुग्ने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य कृष्ण भुर्तेल, देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष बद्री अधिकारी, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी लगायत उपस्थित हुनुहुन्थ्यो ।


