प्रदेश २ मा माधव नेपाल पक्षको बहुमत, चुन्यो संसदीय दलको नेता

काठमाडौ ३० चैत । प्रदेश-२ को एमाले संसदीय दलमा माधव नेपाल पक्ष हाबी भएको छ।

नेपाल पक्षले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सत्यनारायण मण्डललाई संसदीय दलको नेताबाट हटाएको छ। मण्डललाई हटाएर नेपाल पक्षीय शत्रुधन महतो संसदीय दलको नेता बनेका छन्।

प्रदेश २ मा एमालेका २१ सांसद छन्। २१ मध्ये १३ जना सांसदको समर्थनबाट आफू संसदीय दलको नेता बनेको महतोले सेतोपाटीलाई बताए।

‘हामीले वैशाख २९ गते संसदीय दलको नेता चयन भएको पत्र सभामुखलाई बुझाएका थियौं। बहुमत सदस्यले साथ दिएकाले म संसदीय दलको नेता बनेको हो,’महतोले भने,’सोमबारको प्रदेश सभा बैठकमा संसदीय दलको नेताको हैसियतले मैले बोलिसकेको छु। सभामुखले मलाई मान्यता दिइसक्नुभएको छ।’

बहुमत सांसदबाट हटाइएका मण्डलले अवैधानिक र अलोकतान्त्रिक तरिकाले हटाइएको जानकारी आफूले पार्टी नेतृत्वलाई गराएको बताए।

‘अविश्वासको प्रस्ताव नल्याइकनै मलाई हटाइएको छ। यो कुनै पनि हालतमा मान्य हुन सक्दैन। पार्टीको अनुशासनविपरीत काम भएको छ,’उनले भने,’मैले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष, संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपप्रधानमन्त्री एवम् पार्टी महासचिव ईश्वर पोखरेललाई जानकारी गराएको छु। अराजक गतिविधी गर्नेहरूमाथि पार्टीले कारबाही गर्नुपर्छ।’

संसद सचिवालयका कर्मचारी र सभामुखले समेत गलत तरिकाले भएको निर्णयलाई मान्यता दिएको उनले बताए।

आफूलाई हटाउन माधव नेपाल प्रदेश-२ मा आएर शक्ति र पैसाको खेल गरेको समेत आरोप लगाए।

‘गलत तरिकाले संसदीय दलका नेता छानिएका महतोलाई सभामुखले संसदमा बोल्न दिएका छन्। महतोलाई कुर्सी समेत छुट्टाइएपछि म एकछिन बसेर बाहिरिएँ,’उनले भने,’मुख्यमन्त्रीले समेत बधाइ दिनुभयो। मलाई हटाउन देशी विदेशी शक्तिहरूले लामो समयदेखि चलखेल गरेका थिए।’

शेयर गरौ

ताजा अपडेट