काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने नक्कली तत्वहरु सल्बलाइरहेको बताउनुभएको छ । कम्युनिष्ट विरोधी, लोकतन्त्र विरोधी तत्वहरुलाई सफल हुन नदिइने उहाँले बताउनुभयो । नेपाल उत्पीडित जातीय मुक्ति समाजले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएकाे हाे पार्टी फोड्न एकथरी तत्वहरु लागि परे पनि आफूलाई केही फरक नपर्ने उहाँले बताउनुभयो । कम्युनिष्ट आन्दोलन समाप्त पर्ने उद्देश्यका साथ ती तत्वहरु लागेको उहाँले टिप्पणी गर्नुभयो । “मलाई निकाले, ईश्वर पोखरेललाई निकाले, अरु साथीहरुलाई पनि निकाले तर हामीले त कसैलाई निकालेका छैनौं” उहाँले भन्नुभयो । प्रदेशमा पनि सदस्यहरु निकाल्ने काम माधव पक्षले गरिरहेको उहाँले बताउनुभयो ।
“धित मरुन्जेल नेता कार्यकर्ता निकाल्नुस्, फेरि यो अवसर प्राप्त हुँदैन” उहाँले भन्नुभयो । लोकतान्त्रिक प्रणालीको माला जपेर असफल पार्ने केही तत्वहरु लागिपरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संघीयताको नारा जपेर नथाक्ने तर त्यसलाई असफल बनाउनेतिर लाग्नेहरु अहिले देखिएका छन् ।” अपवित्र गठबन्धन गरेर अग्रगमनलाई ढाल्ने, अस्थिरता कायम गर्न केही शक्ति उद्यत रहेको उहाँले बताउनुभयो । “द्वेष फैलाउने, घृणा फैलाउने, फाटो बढाउने, अनेकता मच्चाउने मात्र काम भइरहेको छ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “देशमा वितण्डा मच्चाएर लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ, त्यो हामीले देखेकै हो ।” वामपन्थी शक्तिलाई एकजुट बनाउन आफूले हर प्रयास गरे पनि त्यसलाई असफल बनाउने काम भएको बताउनुभयो ।