भरतपुर/नेपाल क्रेट उद्यमीहरुको राष्ट्रिय भेलाबाट दण्डपाणी भट्टको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन भएको छ ।
नवगठित तदर्थ समितिको उपाध्यक्षहरुमा स्याङजाका लेखनाथ शर्मा, काठमाण्डौंका राकेश सुवाल, सचिवमा चितवनका सुवास अर्याल, कोषाध्यक्षमा चितवनका डि.एन.अर्याल, सह–सचिवमा नवलपुरका केशव रिमाल, सदस्यहरुमा चितवनका महेन्द्र बानियाँ, मनोहर अर्याल, नारायण सुन्दर त्वोयना, बैकुण्ठराज बराल, वुटवलका यज्ञमूर्ती न्यौपाने, सिराहाका तप्सी चौधरी र निरज बस्नेत रहेका छन् । बैठकले मनवानपुर र विराटनगरबाट १–१ जना सदस्य थप गर्नेछ ।
नेपाल क्रेट उत्पादक संघका सचिव एवं कार्यक्रम संयोजक सुवास अर्यालको संयोजकत्वमा सम्पन्न भेलामा क्रेट उद्यमी एवं चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि, क्रेट उद्यमी एवं चितवन उद्योग सघका उपाध्यक्ष गजेन्द्र अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कँडेलले देशभरका क्रेट उत्पादकहरुबीच भएको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–क्रेट उत्पादकहरुका नीतिगत समस्याहरुलाई चितवन उद्योग संघ मार्फत सम्बन्धित निकायहरुमा पहल गरी समाधान गर्न आफू प्रतिवद्ध सहित नवगठित समितिको सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि अधिकारीले संगठनलाई मजबुद बनाउँदै क्षेत्रीय समितिहरु निर्माण गर्न जोड दिर्दै निर्वाचित पदाधिकारीहरुलाई सशक्त रुपमा क्रेट उद्यमीहरुको हकहितमा केन्द्रीत भएर लाग्न सुझाव दिनुभएको थियो ।
यसअघि नेपाल क्रेट उत्पादक संघमा चितवनमा रहेका क्रेट उत्पादकहरुको मात्र सहभागिता रहेको थियो । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । नवगठित समितिको प्रथम बैठकले कायम हुँदै आएको प्रति बण्डल रु ४०० मा रु १०० थप गरी रु ५०० कायम गर्ने निर्णय गरी यस कायम भएको दररेटलाई सम्पूर्ण उद्योगीहरुले लागू गर्न र गराउनु हुन अनुरोध गर्ने निर्णय समेत गरेको थियो ।
