विद्यार्थीलाई पोशाक वितरण

माडी ७ फागुन । माडी नगरपालिका वडा नं ७ मा अवस्थित दक्षिण कालिका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि आज विद्यालय पोशाक वितरण गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुमा स्थायी घर भई हाल जापानमा व्यवसाय सञ्चालन गर्नुभएका समाजसेवी बाबुराम खरेलको सहयोगमा सो विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थीका लागि सर्ट र पाइन्टको कपडा वितरण गरिएको हो ।
व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई संयुक्त रुपमा विद्यालय पोशाक हस्तान्तरण गर्दै माडी नगरपालिका मेयर ठाकुरप्रसाद ढकालले विकासको आधार नै शिक्षा भएकोले बालबालिकाहरुको शैक्षिक विकासमा सबैको ध्यान जानुपर्ने अावश्यकता औंल्याउँनु भयो ।
शैक्षिक विकासको लागि अभिभावकरहरु सचेत हुनुपर्ने बताउँदै मेयर ढकालले शैक्षिक विकास गर्ने उद्देश्यले पोशाक सहयोग गर्ने सहयोगी बाबुराम खरेललाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा माडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष बालकृष्ण सापकोटाले विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्ने सहयोगी बाबुराम खरेललाई धन्यवाद दिंदै शैक्षिक विकासको लागि शिक्षक, अभिभावक, विद्यार्थी, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता अौंल्याउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ काफ्लेको अध्यक्षतामा सम्पन्न भएको पोशाक वितरण कार्यक्रममा साविक कल्याणपुर गाविसका पुर्व अध्यक्ष एवम् नेकपा माडीका नेता प्रेम तिमिल्सिना, सामाजिक अगुवा श्रीप्रसाद दवाडी, विद्यालयकी प्रधानाध्यापक ममता महतो, वडा नं ७ का वडा सदस्य जगन्नाथ लामिछाने विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।
समाजसेवी बाबुराम खरेलले यसअघि पनि चेपाङ बस्तीमा खाद्यान्नका साथै बालबालिकाहरुलाई स्टेशनरी सामान वितरण गर्नुभएको थियो । पोशाक वितरणको सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया