काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर गरेको भन्दै गिरफ्तार गरेको छ ।
विघटित प्रतिनिधि सभाकी सांसद झाँक्रीलाई बिहीबार शंखमूलस्थित उनको निवासबाटै पक्राउ गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जी थमाएको छ ।

राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ गर्न उनलाई पुर्जी दिइएको हो । रामकुमारीले पक्राउ पुर्जी बिना गिरफ्तारी नदिने अडान लिएकी थिइन् । उनलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ पुर्जी थमाएको हो ।
झाँक्रीले राष्ट्रपति विद्या भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिको विषयमा उनलाई पक्राउ पूर्जी दिइएको हो । झाँक्रीलाई पक्राउ गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई दबाव दिएको खुल्न आएको छ । उनको निवास शंखमुल अगाडि समर्थकले नारावाजी गरेका थिए ।