काठमाडौ १९ माघ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनीहरूलाई निवासबाट नियन्त्रणमा लिइएको हो।
म्यानमारमा केही समयदेखि सैनिक कू हुने हल्ला चलिरहेको थियो। सेनाले सोमबार बिहान नेताहरूलाई नियन्त्रणमा लिए पनि यो सैनिक कू नभएको जनाएको छ।
नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको बिबिसीले जनाएको छ।
गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो।
सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्दै थियो। सेनाले यो बैठक नराख्न भनिरहेको थियो।
सन् २०१५ को चुनावपछि नै म्यानमारको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थियो। गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो।