अमिर रामदाम । चितवन ।
पूर्वी चितवनका प्रेमबहादुर वि.क (खाती) यतिबेला माघ १९ गते सोमबार हुने उद्योग बाणिज्य संघ खैरहनीको वाणिज्य तर्फबाट सदस्य पदका लागि प्रतिष्पर्धामा छन् । सूर्य किरण सुनचाँदी पसलको सञ्चालक समेत रहेका वि.क.ले संघको वाणिज्य तर्फबाट सदस्य पदका लागि प्रगतिशिल समूहबाट उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् । सरल स्वभाव, दुरदर्शी र अडिक व्यक्तित्वका धनी भएका कारण पूर्वी चितवन खैरहनी क्षेत्रका उद्योगी व्यवसायीको हक हितका पक्षमा जुन सुकै निकायका पक्षसंग डटेर लड्ने क्षमता राख्छन् । संघको वाणिज्य तर्फबाट सदस्य पदका लागि उम्मेदवारी दिएका वि.क.ले खैरहनी क्षेत्रमा पछिल्लो समय निकै चर्चा बटुलेका छन् । उनै प्रेम बहादुर वि.क.संग उद्योग वाणिज्य संघ खैरहनीको निर्वाचन मै केन्द्रित रहेर पत्रकार अमिर रामदामले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
तपाईको उम्मेदवारी किन र केका लागि ?
यस क्षेत्रका उद्योगी व्यापारीको पेशागत हकहित र संरक्षणको लागि कुशल नेतृत्व प्रदान गर्न र हामी उद्योगी व्यापारी माथी आइपर्ने समस्या समाधान गर्नका लागी मेरो र मेरो टिमको उम्मेद्वारी हो । बोल्ने ठूलो कुरा गर्ने तर, काम नगर्ने प्रवृत्तिका कारण जुन रुपमा पूर्वी चितवन खैरहनी क्षेत्रको व्यवसायको विकास हुनुपर्ने हो त्यो मात्रामा हुन सकेको छैन् । उद्योगी व्यवसायीलाई संघ प्रति आकर्षण बढाउने र संघको विकास गर्नु मेरो प्राथमिकता रहने छ ।
साना ठुला, मझौला लगायत सम्पूर्ण उद्योगी व्यवसायीको छाता संगठनको प्रत्याभुति दिलाउने वातावरण बनाउने छु । संघको विधान समय सापेक्ष, व्यवसायीको भावना र आवश्यकता अनुसार संशोधन गर्ने मेरो प्रमुख एजेण्डा हो ।
मतदाताले तपाईलाई किन भोट हाल्ने ?
व्यापारीका पिरमर्का, उद्योग तथा व्यवसायिक क्षेत्रका समस्याहरुलाई मैले नजिकबाट पहिचान गरेको छु, भोगेको छु, बुझेको पनि छु । मेरो कर्मक्षेत्र उद्योग व्यापार भएकाले यस क्षेत्रका समस्याहरुको समाधान गर्ने मेरो उम्मेद्वारीको प्रमुख उद्देश्य हो । त्यस्तै व्यापारीका हक र अधिकार स्थापित गराउनेका लागि मलाई व्यवसायिहरुको भोट आवश्यक छ । भोली हुने उद्योग वाणिज्य संघ खैरहनीको मतदान कार्यक्रममा मलाई मेरा आदरणीय व्यापारी मतदाताहरुले भोट दिनुहुने छ भन्ने विश्वास छ ।
मतदाताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
महोल अत्यन्तै राम्रो छ । मलाई सबैले चिन्नु भएको छ । म भाषण र कुरा भन्दा काम गर्ने मान्छे हो । नेतृत्वमा पुगेपछि उद्योगी व्यापारीकै हक हितका लागि काम गर्ने हो । उहाँहरुको समस्या समाधान गर्ने हो । त्यसैले पनि होला मलाई घरदैलोका क्रममा पनि मतदाता व्यापारीहरुले आ–आफ्ना समस्याहरु मलाई सुनाउनुभएको छ ।
संघमा जितेपछि के गर्ने योजना छ ?
यस क्षेत्रको बजार विस्तारका साथै औद्योगिक क्षेत्रको विकास गर्नका लागि विभिन्न निकायहरुसँग सहकार्य गरी अगाडि बढ्ने छौं । घरभाडा सम्बन्धी समस्या निराकरण गर्न अग्रसर रहनेछु । सलामी प्रथाको अन्त्यका लागि पहल गर्ने छु । दोहोरो कर सम्बन्धीको समस्या निराकरण गर्न अग्र पंक्तिमा रहनेछु । सुनचाँदी व्यवसायीको पहिचानलाई थप स्थापित गरेर अघि लैजानेछु ।
अन्त्यमा के भन्न चहानुहुन्छ ?
हामी काम गर्न चाहन्छौं काम गर्ने अवसर यहाँहरूले प्रदान गर्नुहुने भन्ने आशा र अपेक्षा हामीसंग छ । सबै उद्योगी, व्यवसायी मतदाताहरु सचेत र सजग हुनुहुन्छ ।