चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृषि विभाग सदस्य चन्द्रशेखर सापकोटाले चितवनको इच्छाकामना गाउँपालिकाका किसानलाई खनजोत गर्ने पाँच वटा हाते ट्र्याक्टर वितरण गरेका छन् ।
किसानलाई कृषि कार्यमा सहजता पुर्याउने उद्देश्यले सापकोटाले व्यक्तिगत लगानीमा ट्र्याक्टर खरिद गरी वितरण गरेका हुन् । वितरण गरिएका प्रत्येक हाते ट्र्याक्टरको मूल्य करिब ५० हजार रुपैयाँ रहेको जनाइएको छ ।
कार्यक्रममा संघीय सांसद प्रभा ढकाल, रास्वपा चितवन जिल्ला सभापति कृष्णप्रसाद भुषाल लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सांसद ढकालले किसानलाई खेतीपातीमा सहजता होस् भन्ने उद्देश्यले पार्टी नेताको व्यक्तिगत लगानीमा हाते ट्र्याक्टर खरिद गरी वितरण गरिएको बताइन् ।
ट्र्याक्टर पाएपछि स्थानीय किसानहरूले खुसी व्यक्त गर्दै यसले खेतीपातीमा ठूलो सहयोग पुग्ने बताएका छन् ।


