चितवन २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले देशको अभिभावक प्रधानमन्त्री आफैनै गालीगलौजमा उत्रनु दुर्भाग्य भएको बतउनु भएको छ ।
सोमबार चितवनको भरतपुरमा आयोजित अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाले सच्चा कम्युनिष्ट पार्टीका नेतामा हुनु पर्ने गुणको अभाव प्रधानमन्त्रीमा देखिएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । प्रधानमन्त्रीले गरेका गलत कार्यलाई विरोध गर्दा आलोचना सहन नसकेर नेताहरुमाथि अभद्र गालीगलौजमा प्रधानमन्त्री उत्रनु भएको बताउनु भयो । उहाले भन्नु भयो तपाइ कस्तो सस्कारमा हुर्कनु भयो । तपाइमा थोरै भएपनि शिस्टता बाकी छैन जस्तो छ । कम्युनिष्ट पार्टीका नेताले एकले अर्कालाई गालीगलौजमा उत्रिदा व्यवस्था बलियो नहुने उहाको भनाइ थियो ।
पार्टीका शिर्ष नेताहरुले एकले अर्कोलाई आक्षेप लगाएर बोल्न नहुने बताउनु भयो । उहाले हिजो मिल्दा सबै कुरा ठिक आज फरक मत राख्दैमा सबै कुरा वेठिक भन्ने संस्कारबाट माथि उठ्नु पर्ने बताउनु भयो ।
प्रधानमन्त्री ज्युले दिनु भएको पछिल्लो अभिव्यक्ति सन्तोषजनक नभएको भन्दै आपत्ती जनाउनु भयो । फरक मत राखेकालाई श्रद्धाञ्जली दिनु पर्ने जस्ता अभिव्यक्तिले कम्युनिष्ट आन्दोलन र त्यसबाट प्राप्त उपलब्धीलाई धक्का दिने बताउनु भयो । उहाले ‘हाम्रो रगत र पसिनाले बनाएको संविधान आज च्यातिन पुगेको छ । संविधानमा हुँदै नभएको कुरा प्रयोग गरेर पुस ५ गते संसद विघटन गर्ने काम भएको छ’ नेता भट्टराईले भन्नु भयो, ‘प्रधानमन्त्रीले संसद भंग गर्न सक्ने व्यवस्था धारा ५३ को ४ मा थियो २०४७ को संविधानमा । २०७२ सालको संविधान बनाउँदा यो राख्ने कि नराख्ने भनेर बहस भयो । त्यो बहसमा केपी ओली र सुवास नेम्वाङ अग्रपंक्तिमा हुनुहुन्थ्यो । २०७२ को संविधानमा त्यसलाई हटाइयो । आज प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार विघटन गरेँ भन्नुहुन्छ । त्यो धाराले पनि उहाँलाई संसद भंग गर्ने अधिकार दिएको छैन । विकल्पहरुमा जानु पर्छ । खोइ विकल्पमा गएको ?’
प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताउँदै नेता भट्टराईले, ‘जसप्रति जवाफदेही हुनु पर्ने हो उसैलाई फाँसी चढाउन पाइन्छ ? पाइँदैन । हामी सबै संविधानको मातहतमा छौँ ।’ आज पार्टीमा बहुमत आफूहरुसँग रहेको उहाले बताउनु भयो । अल्पमतको भरमा बहुमतमाथि शासन गर्न खोज्ने ओलीबाट बहुदलीय जनवादको घाँटी निमोठ्ने काम भएको नेता भट्टराईको भनाइ थियो ।
कार्यक्रममा नेतृ रामकुमारी झाक्रीले संविधानको रक्षा गर्ने व्यक्तिबाटै विघटन हुनु दुर्भाग्य भएको बताउनु भयो । कार्यक्रममा प्रचण्ड माधव समुहका नेता कार्यकर्ताहरुले सहभागिता भएको थियो ।