तर्क गर्न सक्ने क्षमता गुमेपछि प्रधानमन्त्री ओली कमेडियनका रुपमा प्रस्तुत : झाक्री

चितवन २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने नैतिक सामर्थ्य गुमाएको कारण ‘कमेडियन’ रुपमा प्रस्तुत भएको बताउनु भएको छ ।
सोमबार चितवनको भरतपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्, ‘आज केपी ओली नैतिक रुपमा बोल्ने सामर्थ्य नराखेको कारणले कमेडियनका हिसाबले प्रस्तुत हुनुभएको छ । कम्युनिस्ट पार्टीमा विधि, विचार, नैतिकता हुँदा मात्रै बोल्ने सामर्थ्य हुन्छ ।’
नेतृ झाँक्रीले असंवैधानिक तवरबाट संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जघन्य अपराध गरेको बताएकी छिन् । ‘बाँचुञ्जेल शक्तिमा रहन संसद विघटन भयो,’ उनले भनिन्, ‘संविधानले यो अधिकारै दिँदैन। संसद विघटन राजनीतिक प्रश्न हो, सडकबाटै यसको छिनोफानो हुनेछ।’
अयोग्य मान्छे प्रधानमन्त्री थियो भन्ने इतिहास पढ्नु नेपालीको लागि दुर्भाग्य भएको उनको भनाई छ । ‘एउटा सामान्य नागरिकले फेसबुकमा लेखेका छन्– मेरो छोराछोरी, सन्तान दरसन्तानले अयोग्य मान्छे प्रधानमन्त्री थियो भन्ने इतिहासमा पढ्न नपरोस् भनेर उनका भनाइहरु इन्टरनेटका डाटाहरुबाट डिलिट गरौं भनेर ।’
उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसत्तावादी भएको उल्लेख गर्दै त्यसविरूद्ध लाग्न सबैलाई आह्वान गरिन्। झाँक्रीले संसद पुनःस्थापना भएपछि संसद विघटन गर्नेहरुको हिसाबकिताब गर्ने समेत बताइन्।
तपाइँको प्रतिक्रिया