हेटौंडा ८ पुस । बागमतीमा प्रदेश सभाको बैठक गत साउन ८ गतेदेखि बस्न सकेको छैन । प्रदेशसभा सुरु हुनेबित्तिकै नेकपा विवादको बाछिटा पर्ने डरले मुख्यमन्त्री डोरमणि पौडेल संसद आह्वानको सिफारिस गर्न हच्किएका छन् ।
बागमती प्रदेशका एक मन्त्रीका अनुसार आन्तरिक विवाद कायमै रहेका कारण मुख्यमन्त्री पौडेललाई आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव आउने डर छ । किनभने ओली निकट पौडेल अल्पमतमा छन् ।
यससँगै प्रदेश सरकारको अंक गणित सुरु भइसकेको छ । बागमती प्रदेशसभा ११० सदस्यीय छ । सरकार सन्चालनका लागि ५६ सिट चाहिन्छ । नेकपाका सांसद मात्रै ८० जना छन् । तीमध्ये प्रचण्ड–माधव नेपाल पक्षीय सांसदको संख्या ४६ छ । केपी शर्मा ओली निकट सांसद ३४ जना छन् । कांग्रेस २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद बागमती प्रदेशमा छन् ।
प्रचण्ड–माधव नेपाल पक्षका सांसदले साथ नदिने अवस्थामा मुख्यमन्त्री पौडेलले कांग्रेस र अन्य साना दलको साथ लिनुपर्छ । तर अहिलेसम्मको स्थितिमा पौडेललाई ओली निकट सांसदबाहेक अरुको समर्थन छैन । यसको अर्थ स्पष्ट छ– बागमती प्रदेशका मुख्यमन्त्री पौडेल आफ्नै संसदीय दलभित्र अल्पमतमा छन् ।
ओली निकट मानिने पूर्वमन्त्री केशव स्थापितसमेत मुख्यमन्त्री पौडेलसँग चिढिएका छन् । नेकपाका नेताहरु स्थापितले पौडेललाई साथ नदिने दाबी गर्छन् । नेकपाका प्रभावशाली मानिने नेताहरु स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं लगायत पनि मुख्यमन्त्री डोरमणि पौडेलको विपक्षमा देखिन्छन् ।
यस्तै सरकारमै रहेका केन्द्रीय सदस्यहरु शालिकराम जम्मकट्टेल, अरुण नेपाल, युवराज दुलाल ‘शरद’ मुख्यमन्त्री पौडेलविरुद्धमै छन् । सरकारमा रहेका केन्द्रीय सदस्यहरु कैलाश ढुंगेल, रामेश्वर फुँयाल भने मुख्यमन्त्री डोरमणि पौडेलको पक्षमा छन् ।
तत्कालीन एमालेका सांसदहरुको बहुमत भएपछि पौडेल मुख्यमन्त्री भएका थिए । पौडेलसँग प्रतिस्पर्धामा थिइन् माधव नेपाल निकट नेतृ अष्टलक्ष्मी शाक्य । वष्ठिताको हिसाबले पनि अष्टलक्ष्मी अगाडि भए पनि केपी शर्मा ओलीले जबर्जस्ती पौडेललाई मुख्यमन्त्री बनाएका थिए । उक्त समयमा तत्कालीन माओवादीसँग सांगठनिक एकता नभएकाले एमालेभित्रै माधव नेपाल गुट र ओली गुटमा मात्रै प्रतिस्पर्धा भएको थियो । तर अहिले अवस्था फेरिएको छ ।
तत्कालीन एमालेभित्र रहेको ५८ मतमध्ये मुख्यमन्त्री पौडेललाई ३४ मत आएको थियो भने शाक्यलाई २४ मत आएको थियो । अहिले तत्कालीन माओवादीको २२ र माधव नेपाल पक्षको २४ र मुख्यमन्त्री पौडेलसँग चिढिएका केशव स्थापितलाई समेत जोड्दा पौडेलको विपक्षमा ४७ मत पुग्ने आँकलन नेकपा बागमती प्रदेशका सांसदहरु गर्दछन् ।