चितवन ४ पुस । नेपालको यातायात नीति श्रमिकमैत्री र लगानीमैत्री हुननसकेको भन्दै यातायात नीतिको समग्र पुनरलेखन गर्नुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताएका छन् । सार्वजनिक यातायातमा काम गर्ने श्रमिक, व्यवसायी र उपभोक्ता कोही पनि सन्तुष्ट हुन नसकेको राईले बताएका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याकर ईकाई कमिटी चितवनको प्रथम अधिवेशनको पर्सामा शनिबार उद्घाटन गर्दै राज्य राईले उक्त कुरा बताएका हुन् । समग्र यातायात क्षेत्र राज्यको उपेक्षामा परेकै कारण ११ लाख यातायात श्रमिकहरु साढे तीनलाख व्यवसायीका १० खर्ब लगानी जोखिममा परेको राईले बताए ।
लगानीको संरक्षण, श्रमिकहरुको कानुनी तथा सामाजिक संरक्षणको ग्यारेन्टी र उपभोक्ताहरुका लागि गुणस्तरिय सेवाका लागि सार्वजनिक यातायातको सञ्चालन परिचालन र व्यवस्थापनमा राज्यले ध्यानदिन नसकेको राईको आरोप थियो । यातायात क्षेत्रको सुधारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नीति बनाउनु पर्ने भएता पनि मन्त्रालय भौतिक पूर्वाधारका विषयमा मात्रै केन्द्रीत रहेकाले मन्त्रालयले यातायात क्षेत्रलाई वेवास्ता गरेको भन्दै यातायातलाई मात्रै सम्बोधन गर्नेगरी यातायात मन्त्रालय छुट्टै हुनु पर्ने राईको तर्क थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका राईले कोरोना संकटमा परेका श्रमिकहरुको अभिभावकको रुपमा भूमिका खेल्न नसकेको पीडामा परेका श्रमिकहरुको आँशु पुछ्न नसकेको उनले बताए ।
कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महासचिव नवराज घिमिरे, युनिट्राभका केन्द्रीय सचिव प्रशान्त ढुँगानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ, हेमवहादुर बुढाथोकीको अध्यक्षतामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङकर ईकाई कमिटी चितवन गठन भएको छ । १३ सदस्यीय नयाँ नेतृत्वमा उपाध्यक्ष राजेन्द्र बर्तौला, सचिव मणी पौडेल, सहसचिव नवराज लामिछाने, कोषाध्यक्ष नरेश सिवाकोटी, सदस्यहरु लालु गिरी, रामहरी ढकाल, मीत्र ढुँगाना, किरण चौधरी, राजकुमार सुवेदी, पशुपति मैनाली, कुलानन्द पोख्रेल र समिर क्षेत्री निर्विरोध चयन भएका छन् । सल्लाहकारहरुमा माधव ढुँगाना, फणिन्द्र दवाडी र भक्तवहादुर थापा रहेका छन् ।
