चितवन समाचार डटकम, ४ पुस । नेकपा चितवनका नेताहरुले पार्टी एकताको पक्षमा जाेड दिएका छन् । नेकपा भरतपुर महानगरपालिका वडा नम्बर ११ कमिटीले आज भरतपुरमा गरेकाे टेलिफोन डाईरेक्टरि बिमाेचन एवम् अगुवा कार्यकर्ता भेलामा सहभागी नेताहरूले एकताको पक्षमा उभिन आह्वान गरे । कार्यक्रमका प्रमुख अतिथि नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ईन्द्रजितले समाजबादकाे यात्रा पूरा गर्न पार्टी एकताबद्ध हुनुकाे बिकल्प नरहेको बताउनुभयो । नेता कार्यकर्ता ठुलो याेगदानले नेकपा यहाँ सम्म आइपुगेको यथार्थलाई कसैले पनि भुल्न नहुने परियारले बताउनुभयो । कार्यक्रममा नेकपा चितवनका सचिव एवम संघीय सांसद कृष्णभक्त पाेखरेलले यसबेला काेहि पनि कार्यकर्ता नेताहरुकाे पक्ष बिपक्षमा दाेषाराेपण नगरी एकताका लागि खबरदारी गर्नुपर्ने बताउनुभयो । पार्टी एकतावद्ध राख्न सबैले आआफ्ना ठाउँबाट भुमिका खेल्न आवश्यक रहेकाेमा जाेड दिनुभयो । कार्यक्रममा प्रदेश सांसद बिजय सुवेदीले पार्टीको मुल नेतृत्व नै बिबादमा उत्रिएकाले पार्टी एकता कायम राखि राख्न तलका कार्यकर्ता कहि कतै बिभक्त नभई दबाब र खवरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य शान्ति अधिकारी ,जिल्ला कार्यालय सदस्य तेजेन्द्र खड्का, भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्याैपाने,सचिव ईश्वर सापकोटा, वडा ईन्चार्ज सुरेशचन्द्र अधिकारी,सहईन्चार्ज नरेश अधिकारी , वडाअध्यक्ष बाबुराम अधिकारी लगायतले बाेल्नुभयाे । सबै वक्ताहरूले पार्टी कुनै हालतमा बिभाजन हुन नहुने भन्दै आम कार्यकर्ताकाे चाहाना बिपरित अघि नबढ्न नेतृत्वलाई खबरदारी गरेका थिए । कार्यक्रम नेकपा भरतपुर महानगर ११ नम्बर वडा कमिटीका अध्यक्ष प्रकाश आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।