तीन दिन चिसो बढ्ने : आज यस वर्षकै जाडो

काठमाडौं, २ पुस । देशभर जाडो बढ्दै गएको छ । जसका कारण सर्वसाधरण नगरिकको जनजीवन कष्टप्रद बन्दै गएको छ ।

काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । ‘आज विहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । यो वर्षकै न्यून तापक्रम हो’, मौसमविद् मञ्जु बासीले भनिन् । दिउँसो १७–१९ डिग्री सेल्सियस तापक्रम रहने उनले जानकारी दिइन् ।

काठमाडौं उपत्यकामा आज दिनभर मौसम सफा रहने जनाइएको छ । यद्यपि घाम लागे पनि त्यति धेरै तातो महसुस नहुने मौसमविद् बासीले जानकारी दिएकी छिन् ।

बिहान तराई तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । ‘पश्चिम तराईमा बाक्लो हुस्सु लागिरहेको छ । तर यो मध्यान्हसम्म विस्तारै हटेर जाने छ । पश्चिम तराईको तुलनामा पूर्वी तराईमा केही पातलो हुस्सु लागिरहेको छ’, उनी भन्छिन्, ‘वागमती र गण्डकीको पहाडी भू–भागमा पनि कुहिरो लागिरहेको छ ।’

तराईमा दिउँसोसम्म लाग्ने हुस्सुका कारण तापक्रममा आउने कमीका कारण चिसो हुने भन्दै त्यसबाट बच्न आवश्यक सतर्क हुनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा चिसोबाट बच्न बिहान बेलुका चोकचोकमा आगो बालेर ताप्ने चलन छ ।

दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । बाक्लो हुस्सुका कारण भिजिलिटी कम हुने भएकाले सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै विभागले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।
कस्तो रहला आगामी तीन दिनको मौसम ?

पुस २ (बिहीबार)

दिउँसो– प्रदेश–१ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
राति– देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पुस ३ गते (शुक्रबार)

दिउँसो – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
राति– प्रदेश–१, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
पुस ४ गते (शनिबार)

दिउँसो – प्रदेश–१, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
राति –देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

शेयर गरौ

ताजा अपडेट