प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भदौ २६ यताका सबै निर्णय फिर्ता लिने सहमति भएको प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको छ।
योसँगै मंगलबार राष्ट्रपतिबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएसँगै विवादले उग्ररूप लिएको नेकपामा पुनः सहमतिको संकेत देखिएको हो।
बुधबारको स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच दुई पटक छलफल भएको थियो।
दोस्रो छलफलमा प्रधानमन्त्री ओली अध्यादेशसँगै भदौ २६ यता भए/गरेका सबै राजनीतिक निर्णयसमेत फिर्ता लिन सहमत भएको प्रधानमन्त्री निकट उच्च स्रोतले जानकारी दियो।
‘एक-अर्काको आरोपपत्र फिर्ता लिएर एउटै प्रस्ताव तयार पार्ने, भदौ २६ पछिका सबै विवाद खारेज गर्ने, पुराना आरोप पत्र फिर्ता लिएर सहमतिमा नयाँ प्रस्ताव तयार पार्ने दुई अध्यक्षबीच सहमति भयो’,प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको छ। यद्यपी यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
स्थायी समिति बैठकअघि अध्यक्षद्वय ओली–दाहाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो।
छलफलमा स्थायी कमिटी बैठकमा सामूहिक प्रस्ताव लैजानेसमेत सहमति भएको स्रोतले जानकारी दियो।