ओली र प्रचण्ड बिच बालुवाटारमा बार्ता

काठमाडौं,१ पुस  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा बार्ता जारी छ । दिउँसो १२ बजेबाट शुरुभएको बार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १२ बजे बालुवाटार आउनुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो । दुई अध्यक्षबीच वार्ता जारी रहेकाले १ बजे पूर्व निधारित स्थायी कमिटी बैठक ढिलो हुनसक्ने उहाँले जानकारी दिनुभयो ।

सचिवालय बैठकमा कायमै रहेको आन्तरिक विवाद स्थायी कमिटी बैठकमा सरेपछि दुवै अध्यक्षको प्रस्तावमाथि नेताहरुले धारणा राख्ने कार्यक्रम छ । स्थायी कमिटी बैठकको कार्यसूची पार्टीको आन्तरिक समस्या कायम गरिए पनि नेताहरुले प्रस्तावलाई नै केन्द्रित गरेर धारणा राख्ने तयारी गर्नुभएको छ । अध्ययनका लागि स्थायी कमिटीका सदस्यहरुलाई दुवै प्रस्ताव वितरण गरिएको छ ।

पार्टीको आन्तरिक विवाद कायमै रहेका बेला दुई अध्यक्षबीचको वार्ता संवादलाई नेताहरुले सकारात्मकरुपमा लिएका छन् । दुई अध्यक्षबीच कुरा मिले पार्टीको आन्तरिक विवाद पनि सकिने उहाँहरुको अनुमान छ । यद्यपि सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद (पहिलो संशोधन) अध्यादेश २०७७ बारेमा समेत अध्यक्ष प्रचण्ड फरक मत राख्दै अध्यक्ष ओलीसँग बार्ता गर्ने बताउनुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट