चितवन, २९ मंङ्सिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सडकमा निस्केका व्यवस्था विरोधी जुलुसको कारणले प्राप्त उपलब्धीलाई केही असर नगर्ने बताउनु भएको छ ।
प्रेस संगठन चितवनले सोमबार भरतपुर विमान स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधिले केही फलर पर्दैन उनीहरुका मृगतृष्णा मात्रै भएको बताउनु भएको छ । राजावादीहरुको गतिविधि व्यवस्था विरोधी र प्रतिपक्षले सोमबार गर्न लागेको प्रदर्शन सरकार विरोधी भएको बताउनुभयो । पछिल्लो समय कोभिडले उत्पन्न गरेको संकटबाट संविधानविरोधी शक्तिहरु व्यवस्था प्रणाली र संविधानलाई उल्ट्याउने अवसर आएको भन्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । थापाले भन्नु भयो ‘त्यही अनुसार उनीहरुले यो राजनीतिक उपलब्धीलाई उल्ट्याउनका लागि सक्रिय भएको देखिन्छ ।’
राजावादीहरुको गतिविधिहरु र अरु शक्तिहरु पनि सतहमा आईरहेको भन्दै उहाँले सरकार विरोधी पनि अहिले सलबलाईरहेका छन् । यसै सन्दर्भमा प्रतिपक्षले देशव्यापी रुपमा सोमबार सरकार विरोधी प्रदर्शन गर्दैछ ।” उहाँले भन्नुभयो “उनीहरुले सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्तापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन ।” नेपाली जनताले उनीहरुको सपनालाई कदापी पूरा हुन नदिने उहाँको भनाई छ । राजावादीहरु गणतन्त्र विरोधी भएको र विप्लव समूह यो व्यवस्था स्थापित गरेर उनीहरुको भाषामा समाजवादी क्रान्ति गर्ने भन्ने रहेको उहाँले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य समेत रहनु भएका थापाले पार्टीभित्रको विरोधलाई स्वभाविक प्रक्रिया भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुधृढ गर्छ ।” अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने भन्दै उहाँले थप्नुभयो “पार्टी फुट्ने त प्रश्नै उठ्दैन अरु सुधृढ भएर जान्छ ।”