नेकपा अध्यक्ष द्वयको भेटवार्ता : सहमती प्रयास

काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबार दिउँसो भेटवार्ता भएको छ । पार्टीको आन्तरिक विवाद समाधानका निम्ति छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीलाई भेटन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो बालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको करिब एक घण्टा लामो छलफलमा आन्तरिक विवाद समाधानका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले बताउनुभयो । गत आइतबार २१ गते बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत प्रस्तावहरु बारे स्थायी कमिटीका सदस्यहरुले अध्ययन गरिरहेकाबेला दुई अध्यक्षबीच आज भेटवार्ता भएको हो ।

अध्यक्ष दाहाल दिउँसो साढे १२ बजे छलफलका लागि बालुवाटार पुग्नुभएको थियो । दुई अध्यक्षबीच विवाद सल्टाउने विषयमा गम्भीर छलफल भएपनि ठोस निस्कर्षमा भने पुगिनसकेको बालुवाटार स्रोतले बताएको छ । यस बीचमा हुने दुई अध्यक्षबीचको संवादले वातावरण सहज बनाउने विश्वास नेताहरुको छ ।

आइतबार बसेको बैठकमा पत्र प्रषित गर्नुहुँदै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहो¥याउनुभएको थियो । बैठकमा अनुपस्थित रहनुभएका अध्यक्ष ओली सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत पत्र बैठकमा प्रस्तुत गर्नुभएको थियो । आफूमाथि लगाईको सङ्गीन आरोपसहितको प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा प्रस्तावमाथि छलफल गर्न नसकिने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ ।

स्थायी कमिटीको बैठक आगामी आइतबार २८ गते १ बजेकालागि तय गरिएको छ । सो अघि दुई अध्यक्षबीचको सघन संवादले सकारात्मक वातावरण निर्माण हुनसक्ने भन्दै दोस्रो तहका नेताहरुले दुई अध्यक्षको वार्ताकालागि प्रयासरत रहनुभएको छ । आजको बैठक दुई अध्यक्षबीच एक्लाएक्लै भएको प्रेस विज्ञ बजगाईले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट