काठमाडौं, १० मंसिर । तराई मधेश द्रुतमार्गको निर्माणकार्यले गति लिएको छ । लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भएपछि स्वीकृत हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा भएको ढिलाइ तथा कोभिड–१९ को कारणले आयोजना निर्माण अपेक्षाकृत रुपमा गति लिन सकेको थिएन ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्रदेश २ अन्तगर्त बाराको निजगढदेखि काठमाडौं जोड्ने ७२.५ किमिको द्रुत मार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता र प्राबिधिक टोलीको आगमनले गति लिने भएको हो । उक्त द्रुत मार्ग निर्माण ब्यवस्थापनको जिम्मेवारी नेपाली सेनाको हो ।
तराई मधेशबाट उपत्यका पुग्ने द्रुत मार्ग सबैभन्दा छोटो दूरीको महत्वपूर्ण आयोजना हो । बाराको निजगढबाट सुरु हुने द्रुतमार्गले मकवानपुर हुँदै ललितपुर भएर काठमाडौं उपत्यकालाई तराई मधेशसँग जोड्नेछ ।
मन्त्रीपरिषदको २०७४ वैशाख २१ गतेको निर्णयले निर्माण ब्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । निर्माण ब्यवस्थापनको जिम्मेवारी पाएको दुई वर्षपछि मात्रै द्रुत मार्गको अनुमानित लागतसहितको डीपीआर २०७६ भदौ १ गते स्वीकृत भएको हो ।
डीपीआर बमोजिम द्रुतमार्ग निर्माणको कुल लागत एक खर्ब ७५ अर्ब अनुमान गरिएको छ । द्रुतमार्ग आयोजना २०८०÷८१ म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हालसम्म १६.२१ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनामा हालसम्म १६ अर्ब ६६ करोड लगानी गरिएको छ । डीपीआर बमोजिम द्रुतमार्गमा ६.४१ किलोमिटर सुरुङमार्ग हुनेछ । १०.५९ किलोमिटरमा पुल हुनेछन् । ५५.५ किलोमिटर खण्डमा ढुङ्गा र माटो पुर्ने काम रहेकोमा ८८ प्रतिशत सम्पन्न भइसकेको छ ।
ढुङ्गा माटो तथा संरचना निर्माण कार्यका लागि ३० वटा प्याकेज बनाइएको छ । १५ वटा प्याकेजको निर्माण सकिएको छ । चार वटा प्याकेजको प्रगति सन्तोषजनक नदेखिएकोमा कारबाही अगाडि बढाइएको छ । ११ वटा प्याकेजको ठेक्का समयावधि छ महिनाका लाथि थप गरिएको छ ।
उक्त द्रुतमार्ग विभिन्न ११ क्लष्टरमा निर्माण हुँदैछ । द्रुतमार्ग सडक आयोजनाको डिजाइन तथा निर्माण सुपरभिजनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता कोरियालाी कम्पनी एम÷एस यूशिन इन्जिनियरिङ्गसँग सम्झौता भएको थियो ।
प्रवक्ता पौडेलले परामर्शदाता कम्पनीका टिम लिडरसहित आठ जना विज्ञहरु नेपाल आई काम सुचारु गरिसकेका जानकारी दिनुभयो । टोलीमा प्रमुख सर्वेक्षक, भूप्राबिधिक इन्जिनियर, राजमार्ग निर्माण इन्जिनियर, सुरुङ डिजाइन इन्जिनियर, वरिष्ठ भूगर्भविद् छन् ।
प्रवक्ता पौडेलले सुरुङ्ग निर्माणसम्बन्धी भूप्रबिधि तथा भूगर्भ अनुसन्धान सम्बन्धी फिल्डको कार्य सम्पन्न भई रिपोर्ट मूल्याङ्कन भईरहेको जानकारी दिनुभयो । महादेवटार, धेद्रे र लेनडाँडा गरी १८ वटा बोर होल बनाउने कार्य अन्तिम चरणमा छन् । गोरखापत्र बाट