नारायणी पब्लिकमा रजत महोत्सवको रौनक, टोलमा सरसफाई

चितवन समाचारडटकम, ४ फागुन ।
भरतपुर महानगरपालिका वडा नम्वर ११ मा रहेको नारायणी ईङ्ग्लीस पब्लिक माध्यमिक विद्यालयले २५ औं वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा आज सरसफाई कार्यक्रम गरेको छ ।
स्थानीय टोल विकास संस्थासंगको सहकार्यमा विशाल चोक देखी वडा कार्यालय सम्मको स्थानमा सरसफाई गरिएको विद्यालयका प्रिन्सीपल वेदराज न्यौपानेले जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा जनोदय टोल विकास संस्था, वातावरण तथा सरसफाई अनुगमन समिति, सल्लेरी शान्ति टोल विकास संस्था, दीपज्योती टोल विकास संस्था र पारिजात टोल विकास संस्थाले सहकार्य गरेका थिए ।
सरसफाई कार्यक्रममा सहभागी वडा नम्वर ११ का अध्यक्ष बाबुराम अधिकारीले विद्यालयले सरसफाई अभियान सञ्चालन गरेकोमा खुसी ब्यक्त गर्दै वडालाई स्वच्छ बनाउन सवै सचेत नागरिक लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका सञ्चालक समितिका अध्यक्ष राजेश्वर खनाल, प्रिन्सीपल न्यौपाने, शिक्षक शिक्षिका, विद्यार्थी, स्थानीय समुदाय टोल विकास संस्थाका पदाधिकारीहरु लगायत सहभागी भए ।
सामाजीक उत्तरदायित्व अन्तरगत समाजमा सरसफाईवारे संदेश प्रवाह गर्न विद्यालयले रजत महोत्सवका अवसरमा यस कार्यक्रम गरेको अध्यक्ष खनालले बताउनुभयो ।
वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा स्वास्थ्य शिविर, रक्तदान, हाजीरी जवाफ प्रतियोगिता, हिज्जे प्रतियोगीता , सहयोग वितरण जस्ता कार्यक्रमहरु भईसकेका छन् । विद्यालयले रजत महोत्सव समारोह समापन एवम् वार्षिकोत्सव कार्यक्रम भोली गर्दैछ ।

ताजा अपडेट