चितवन ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टी भित्र देखिएको विवाद प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली विरुद्धको लडाई भएको बताउनु भएको छ । नेकपा रत्ननगर नगर कमिटीले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले पार्टीको निर्णय विरुद्ध काम गर्ने प्रधानमन्त्रीको कार्यशैलीले वर्तमान विवाद सृजना गरेको स्पष्ट पार्नु भयो ।
हामीले प्रधानमन्त्री, पार्टी अध्यक्षबाट उहाँलाई हटाउन खोजेका होइनौं नेता पाण्डेले भन्नू भयो उहाँको गतल कार्यतरिका,कार्यशैली,पार्टी र सरकार सञ्चालनको दुष्टिकोणको विरोध गरेका हौं । यो ओली विरुद्धको लडाई होइन उहाले भन्नू भयो यहाँको गलत कार्यशैली विरुद्धको लडाई हो ।
नेता पाण्डेले नेकपा कुनै पनि हालतमा नफुट्ने दावी गर्नु भयो । पार्टी फुट्दैन,फुट्न दिदैनौं पार्टी फुटाए त्यसको सिकार ओली बन्नुहुन्छ । पार्टी फुट्ने कुरा कल्पना पनि गर्न नसकिने भन्दै नेता पाण्डेले पार्टी फुटे देश केही हुदैन,हामी बर्बाद हुन्छौं ।
पार्टी विधिबाट सन्चालन हुनु पर्दछ तर प्रधानमन्त्रीले विधि बिर्सनु भयो नेता पाण्डेले भन्नु भयो । पार्टीले गरेको निर्णय नमान्ने र एकलौटी तरिकाले सरकार चलाउन खोज्ने प्रधानमन्त्रीको कार्यशैलीले नेकपा कमजोर बन्दै गएको उहाले भन्नू भयो ।
साधारण सदस्यदेखि प्रधानमन्त्रीसम्मले पार्टीको निर्णय मान्नु पर्छ उहने भन्नू भयो विश्वको राजनीतिमा हुने यही हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले आम नेता र कार्यकर्ताको योगदानले बनेको पार्टी भएको हुँदा कसैले चाहेर पार्टी नफुट्ने बताउनु भयो ।
पार्टी सिद्धान्द,विचार र दृष्टिकोणले चल्ने भन्दै कसैको धम्कीले पार्टी नचल्ने बताउनु भयो । उहाले पार्टी भित्र अहिले देखिएको विवादले पार्टी एकता भित्र लुकेको स्वार्थ बाहिर आएको बताउनु भयो । पार्टी एकता भित्र स्वार्थ लुकेको रहेछ उनले भने नेता कार्यकर्ता त्यही स्वार्थको चपेटामा परेका छौं ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इश्वरी भट्टराईले अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीलाई बुझाएको पत्र सही रहेको बताउनु भयो । दिन दिनै पार्टी मर्दै गएको भन्दै उहाले पार्टीलाई विधि र प्रक्रियामा चलाउनु पर्ने बताउनु भयो । नगर अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम सचिव ओमप्रसाद लामिछानेले सञ्चालन गर्नु भएको थियो ।