नारायण सापकोटा
माडी । राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति एवम् राष्ट्रिय सभा सदस्य पार्वती रावलले माडी नगरपालिका वडा नं ८ कान्तिपुरमा सञ्चालित सामुहिक खेतीको बिहीबार निरीक्षण गर्नुभएको छ ।
माडीमा बन्न लागेको रामधाम निर्माण स्थलको स्थलगत अवलोकन र माडीका समस्या र विकास योजनाका विषयमा जानकारी लिन माडी आउनुभएकी सभापति रावलले कान्तिपुरमा सञ्चालित सामुहिक खेतीको पनि निरीक्षण गर्नुभएको हो ।
सामुहिक खेतीको निरीक्षण गर्दै सभापति रावलले सामुहिक खेती सञ्चालन गरेर एकातिर भौतिक विकास भएको छ भने अर्कोतिर मानिसको जीवनस्तरमा पनि सुधार भएकोमा खुसी व्यक्त गर्नुभयो । यो अभियानमा आफुले सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनुभयो ।
कृषि क्रान्तिको अवधारणा अनुसार नै भएको यो नमूना अभियानलाई अन्य क्षेत्रमा पनि विस्तार गर्दै लानुपर्ने उल्लेख गर्दै उहाँले सामुहिक खेतीको अभियानबाट रोजगार वृद्धि र पर्यटन क्षेत्रमा पनि योगदान गरेकोमा सामुहिक खेतीको अभियानमा सहभागी र सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।
कान्तिपुर सामुहिक खेतीका प्रबन्धक शिवजी गायकले सामुहिक खेतीको अभियानमा अन्नबाली, तरकारी बाली, पशुपालन,माछा पालन सञ्चालन गरिएको जनाउँदै समुदायलाई मिलाएर यान्त्रिकरणको प्रयोगबाट काम गर्दा लागतमा पनि कमी आएको बताउनुभयो ।
उहाँले सामुहिक खेतीको अभियानबाटै फार्म स्टे र कल्चर हाउस पनि सञ्लानमा ल्याउन लागेको जानकारी दिँदै प्रबन्धक गायकले अभियानमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।
सभापति रावलसँगको भेटमा कान्तिपुर सामुहिक खेतीका अध्यक्ष ईन्द्र पौडेलले सामुहिक खेतीको कार्यका बारेमा प्रकाश पार्नुभएको थियो भने निरीक्षणका क्रममा अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका अध्यक्ष नारदमणि पौडेल, माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदी वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, अयोध्यापुरी मध्यवर्तीका पुर्व अध्यक्ष मथुराबहादुर भण्डारी, सामाजिक अगुवा श्रीप्रसाद दवाडी राजनीतिक व्यक्तित्वहरु लगायतको सहभागिता रहेको थियो ।
निरीक्षण गर्नु अगाडि सभापति रावलले माडी नगरपालिका नगर प्रमुख ठाकुर ढकालसँग भेट गर्नुका साथै रामधाम निर्माण स्थलहरुको अवलोकन गर्नुभएको थियो ।
प्रधानमन्त्रीलाई औठी लगाइदिने रहर
सामुहिक खेतीको निरीक्षणकै अवसरमा स्थानीय समाजसेवी नवराज गायकले रामधाम निर्माणको अभियानमा समन्वय गरिरहेकी राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति पार्वती रावललाई भेट गरी सम्माननीय प्रधानमन्त्रीलाई भगवान रामको मूर्ति जडित औंठी लगाइदिन आतुर रहेको बताउनुभयो ।
भगवान रामकै पालाका विभिन्न सामग्रीहरू फेला पारिएकोले तिनैबाट औठी तयार रामधामको उद्घाटन गर्न प्रधानमन्त्री आउँदा गन्धर्व बाजागाजासहित प्रधानमन्त्रीलाई लगाइदिने योजना बनाएको सन्देश सुनाउनुभएको थियो ।
समिति सभापति रावलले पनि प्रधानमन्त्री सामु सन्देश पुर्याउने प्रतिबद्धता जनाउँदै रामधाम निर्माणको अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।