अयोध्याधाम निर्माण स्थलको स्थलगत अवलोकन   

नारायण सापकोटा
माडी । राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति एवम् राष्ट्रिय सभा सदस्य पार्वती रावलले रामधाम निर्माणको लागि माडी नगरपालिकाले सिफारिस गरेर केन्द्रमा पठाएको र वैकल्पिक स्थानहरुको बिहीबार स्थलगत अवलोकन गर्नुभएको छ ।
रामधाम निर्माणको लागि सिफारिस भएको माडी नगर पालिका ९ स्थित कृष्णनगर पार्क पुगेर स्थलगत अवलोकन गरेपछि सभापति राववले स्थानीयहरुसँग संक्षिप्त छलफलसमेत गर्नुभएको थियो ।
छलफलका क्रममा सम्माननीय प्रधानमन्त्रीले विस्तृत अध्ययन गरेर नै रामधाम निर्माणको विषय सार्वजनिक गर्नुभएकोले ढुक्क भएर अभियान सफल बनाउने काममा लाग्न स्थानीयहरुलाई आग्रह गर्नुभयो । उहाँले रामधाम निर्माणको अभियानमा माडी नगरपालिका, अयोध्या अध्ययन तथा अनुसन्धान समिति र स्थानीय जनताबाट भएका कामहरुको प्रशंसासमेत गर्नुभएको थियो ।
माडीका समस्याको बारेमा आफुलाई जानकारी भएको जनाउँदै सभापति रावलले समग्र माडीको विकास र रामधाम निर्माणको अभियानमा स्थानीय, प्रदेश र केन्द्रसँग समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
रामधाम निर्माण स्थलको बारेमा प्राविधिक टोलीको सिफारिस अनुसारनै काम अगाडि बढ्ने जनाउँदै सभापति रावलले जुन ठाउँ उपयुक्त भएपनि समग्र माडीको विकास गर्ने गुरुयोजनासहित रामधाम निर्माणको कार्य अगाडि बढ्ने भएकोले माडीवासीको सामुहिक एकताले काम गर्न सल्लाहसमेत दिनुभयो ।
भेटका अवसरका अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका अध्यक्ष नारदमणि पौडेल, माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदी वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, अयोध्यापुरी मध्यवर्तीका पुर्व अध्यक्ष मथुराबहादुर भण्डारी लगायतले रामधाम निर्माणको लागि प्राविधिक टोलीको सिफारिस अनुसार माडीवासीको सामुहिक एकताले नै काम अगाडि बढाउने जनाउँदै स्थानीय स्तरबाट भएका कार्यहरुको जानकारी गराउनुभएको थियो ।
बिहीबार नै सभापति रावलसहितको टोलीले रामधान निर्माणको लागि वैकल्पिक स्थानहरु माडी नगरपालिका वडा नं ८ को दक्षिण अयोध्याप्री, माडी नगर पालिका वडा नं ७ को देवेन्द्रपुरको पनि स्थलगत अवलोकन गर्दै स्थानीयहरुको सक्रियताको खुलेर प्रशंसा गर्नुभयो ।
सभापति रावलले रामधाम निर्माण निर्माण स्थलहरुको अवलोकन गर्नु अगाडि माडी नगरपालिका नगर प्रमुख ठाकुर ढकालसँग भेट गरी रामधाम निर्माणको अभियान र माडीका समग्र समस्याहरुको बारेमा जानकारी लिनुभएको थियो ।   

शेयर गरौ

ताजा अपडेट