माडी २८ कार्तिक । राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति पार्वती रावल बिहीबार माडी नगरपालिका पुगेर माडीका समस्या र रामधाम निर्माणको विषयमा स्थानीय स्तरबाट भएका कार्यहरुको जानकारी लिनुभएको छ ।
सभापति रावलसँगको भेटमा नगर प्रमुख ठाकुर ढकालले रामधाम निर्माणको लागि माडी नगर पालिकाबाट जमिन सिफारिस गरी पठाइएकोले थप अध्ययनको लागि प्राविधिक टोली पठाउन केन्द्रबाट पहल गर्न आग्रह गर्नुभयो ।
नगर प्रमुख ढकालले बस्ती उठाएर, रुख फडानी गरेर रामधाम बनाउनुभन्दा खाली र आवश्यकता अनुसारको जमिन प्रयोग गर्न पाइने भएकोले साविक अयोध्यापुरी गाविसको कृष्णनगर पार्कलाई सिफारिस गरी पठाइएकोले प्राविधिक टोलीको रिपोर्ट अनुसार काम अगाडि बढाउने जानकारी दिनुभयो ।
माडीका सुकुम्बासी समस्याको बारेमा जानकारी दिंदै नगर प्रमुख ढकालले निकुञ्ज ऐन २०२९ र संरक्षण ऐनका कारण समग्र माडीको विकासमा बाधा उत्पन्न भएको जनाउँदै केन्द्रीय तहबाट नै ऐन संशोधनको लागि पहल गर्न आग्रहसमेत गर्नुभएको थियो ।
माडीका समग्र समस्याहरुको जानकारी लिदै सभापति रावलले ऐन कानुुन र नीति नियमहरु जनमैत्री हुनुपर्ने उल्लेख गर्दै विकासको लागि बाधक बनेका ऐन नियमहरु संशोधनको लागि सहजीकरण गर्ने विश्वास दिलाउनुभएको थियो । उहाँले सामधाम निर्माणसँगै माडीको समग्र विकासको गुरुयोजना तयार गरी अगाडि बढ्नुपर्ने भएकोले स्थानीय स्तरबाट नगरपालिकाले सहजीकरण गर्नुपर्ने बताउँनुभयो ।
माडी नगर पालिकामा भएको छोटो छलफलको क्रममा नेकपाका नेताहरु लिलाधर आचार्य, नारायण पौडेल,श्याम विष्ट, बच्चु भट्टराई,सरस्वती विष्ट, अयोध्या अध्ययन अनुसन्धान र व्यवस्थापन समितिका अध्यक्ष नारदमणि पौडेल, माडी नगर पालिकाका प्रवक्ता शिवहरी सुवेदी ,विद्यार्थी नेता निशा अधिकारी, लायन्स क्लव अफ माडी ग्रीनका अध्यक्ष श्रीप्रसाद दवाडी लगायतको उपस्थिति रहेको थियो ।


