चितवन, २५ कार्तिक । मुलुकभर महिला तथा दलित समुदाय माथी भइरहेको जघन्य हत्या, हिंसा र बलत्कारका विरूद्ध आज मंगलबार चितवनमा खबरदारी विरोध प्रदर्शन कार्यक्रम भएको छ ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माण अभियान समिति चितवनको आयोजनामा भरतपुरको हाकिमचोक हुँदै चौबिसकोटी सम्म र्याली र त्यसपछि कोणसभा भएको थियो । र्यालीमा सहभागीहरूले रातो रंग पोतिएको टिर्सट र चोरी औला साथै हातको नाडीमा पट्टी बाँधेर साङ्केतिक विरोध गरेका थिए ।
र्यालीमा सहभागीहरूले महिला तथा दलित समुदाय माथी हुने अपराधका विरूद्ध कडा भन्दा कडा कारबाहिको माग गरेका छन्।
र्यालीमा दलाली सरकार खबरदार, बलत्कारीहरू खबरदार, बलत्कारी जोगाउने प्रशासन खबरदार र महिला हिंसा गर्नेहरू खबरदार भनेर नारावाजी गरेका थिए ।
खबरदारी कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल अन्तर्गत रहेको जात व्यवस्था उन्मुलन मोर्चा नेपालका बागमती उपत्यका सम्पर्क समितिका संयोजक महावीर विश्वकर्मा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य राजेश्वरी सुवेदी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका सुदुरपश्चिम प्रदेश संयोजक पुष्प भण्डारी, जात व्यवस्था उन्मुलन मोर्चा नेपाल प्रदेश नं २ का संयोजक दीपनारायण दास, चितवनका दलित अभियन्ता लक्षुराम विश्वकर्माले मन्तव्य राखेका थिए ।