सचिवालय वैठक बोलाएर ओली भेट्न प्रचण्ड पुगे वालुवाटार

काठमाडौं, २५ कार्तिक । कार्यकारी अधिकार प्रयोग गर्दै आज  बजेका लागि सचिवालय वैठक बोलाएका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

आफूले डाकेको अनौपचारिक वैठकअघि नै प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले लिखित पत्रबारे ठोस निर्णय नदिएपछि अनौपचारिक छलफलका लागि सचिवालय सदस्यहरुलाई आज ४ बजे बोलाइएको बताएका छन् ।

यसअघि अध्यक्ष प्रचण्डसहितका ५ जना नेताले सचिवालय बैठक बोलाउन सहमति दिन ओलीलाई लिखित आग्रह गरेका थिए । शुक्रबार र शनिबार अनौपचारिक छलफल गरेर सोमबारभित्र बैठक बोलाउन पाँच नेताले गरेको आग्रहलाई ओलीले वेवास्ता गरेपछि मंगलबार पुनः प्रचण्डले सचिवालय सदस्यहरुसँग छलफल गर्न लागेका हुन् ।

यसैबीच प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । अहिले दुई अध्यक्षबीच पार्टीको विवाद र सचिवालय बैठकबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

यसअघि आजै अध्यक्ष ओलीको सन्देश लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल प्रचण्ड निवास पुगेका थिए । पोखरेलसँग प्रचण्डको भेटवार्ता भएको केही समयमै दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

प्रचण्डसँगको भेटपछि मुख्यमन्त्री पोखरेलले पार्टीभित्रको समस्या एक्ला एक्लै वैठक बसेर नहुने बताएका छन् । पार्टी विवाद दुई अध्यक्ष सँगै बसेर वार्ता र छलफलको माध्यमबाट अन्त्य गरिनु पर्ने पोखरेलले बताएका छन् ।

यता पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले सचिवालय बैठक बस्न अस्वीकार गर्दै आएका छन् । उनले सचिवालय बैठकअघि दुई अध्यक्षका बीचमा सहमति हुनुपर्ने बताउँदै आएका छन् । ओलीले वैठक बस्ने परे पनि पार्टी विधान अनुसार बस्ने बताएका छन् । यता प्रचण्ड–नेपाल पक्षले भने सबै विषयमा सचिवालयमै छलफल हुने बताउँदै आएका छन् । ओलीसँगको भेटवार्ता सकेर धुम्वाराही पुग्ने प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।

शेयर गरौ

ताजा अपडेट