काठमाडौं, २५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको शक्ति संघर्षको विवाद थप गहिरिंदै गएको छ ।
पार्टीभित्रको विवादले फुटको बाटो लिइरहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार प्रयोग गर्दै सचिवालय वैठक बोलाएका छन् । आज ९मंगलबार० ४ बजे पार्टी मुख्यालयमा बस्ने वहुमत सचिवालय सदस्यको वैठकलाई अनौपचारिक भनिएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच आज दिउँसो ४ बजे पार्टी मुख्यालय धुम्बराहीमा छलफलका लागि समय तय भएको हो ।
ओली इतर समूहको बहुमत सचिवालय सदस्यहरुको छलफलमा ओलीले बैठक नबोलाए कार्यकारी अध्यक्ष दाहालले नै बैठक बोलाउने विषयमा पनि छलफल हुने स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीसँग सहमति लिन लिखित पत्र बुझाएको तीन दिन बितिसक्दा समेत ओलीले सचिवालय वैठक बस्नेबारे कुनै निर्णय नदिएपछि सचिवालयका वहुमत सदस्य आज फेरि छलफलमा जुट्न लागेका हुन् ।
यसअघि शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बसेको थियो । त्यसको भोलिपल्ट अर्थात शनिबार बहुमत सचिवालय सदस्यले बैठकको सहमतिका लागि अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लिखित पत्र नै बुझाएका थिए ।
उनीहरुले दिएको समय सीमा सोमबार सकिएको छ । तर, तोकिएको समय सीमा घर्किएपछि पनि प्रचण्ड–माधव नेपाल समूहले आजसम्म ओलीको निर्णय पर्खिने बताएको थियो ।
प्रचण्डले बैठक राख्ने तयारी गरेपछि आज ९मंगलबार० बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए । त्ययसअघि सोमबार पार्टी महासचिव विष्णु पौडेलले पनि प्रचण्डलाई भेटेर अध्यक्ष ओलीको सन्देश पु¥याएका थिए ।
पार्टीभित्रको पेचिलो बन्दै गएको विवादका बीच पौडेललाई ओलीले सोमबार खुमलटार पठाएका थिए ।
पाँच सचिवालय सदस्यले पठाएको पत्रमा तोक लगाएर अध्यक्ष ओलीले विधानअनुसार गर्नू भन्ने सन्देश महासचिव पौडेलमार्फत् दाहाललाई पुर्याइएको थियो । तर, महासचिव पौडेलले कुनै ‘मूर्त सन्देश’ नल्याएको भन्दै दाहालले बैठकभन्दा पनि सहमति खोजेको जवाफ दिइएको बताइएको छ ।
ओलीले दाहालसँग यसअघि भएको वार्तामा आफ्नो सहमति बिना बैठक बोलाइए फुटको बिन्दु त्यही हुने चेतावनी दिएपछि अध्यक्ष दाहालले भने आफ्नो समूहका नेताहरुको बैठक लगातार राख्दै आएका छन् । पार्टीभित्रको विवादका कारण दवाव र समस्यामा रहेका अध्यक्ष ओली भने भोलि ९बुधबार० संखुवासभाको किमाथाङ्का भ्रमणमा निस्किने कार्यक्रम तय भएको आज सार्वजनिक भएको छ ।