चितवन १९ कात्तिक । आइसोलेशनमा बसेर कोरोना निको भइ घर फर्केकालाई गुर्जोको विरुवा उपहार दिइएको छ ।
भरतपुर महानगरपालिका कोभिड १९ आइसोलेसन केन्द्र बागेश्वरीबाट बुधबार कोरोनालाई जितेर घर गएका ८ जनालाई महानगर प्रमुख रेनु दाहालले गुर्जो उपहार दिनु भयो । उहाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने गुर्जोको विरुवा र निरोगिताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
यो केन्द्रमा हालसम्म तीन सय १० जना भर्ना भएर उपचार लिएका छन् भने अहिलेसम्म दुइ सय ५० जना निको भएर घर फर्किएका छन् । बुधबारको बिदाई १७ औं भएको चिकित्सालयका निर्देशक डाक्टर हेमराज कोइरालाले जानकारी दिनु भयो ।
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर १, बागेश्वरीमा २०७७ कार्तिक १४ गतेदेखि महानगरको सहयोगमा आईसोलेसन केन्द्र सञ्चालन गरिएको हो । यहाँबाट हालसम्म कुनै पनि बिरामी रिफर गरेर बाहिर पठाउन नपरेको चिकित्सालयका निर्देशक डा. कोइरालाले बताउनु भयो ।
यहाँ संक्रमितहरुलाई आवधिक उपवास अर्थात् ८ घन्टा खाना खाने र १६ घन्टा भोकै राखेर उपचार गरिँदै आएको निर्देशक कोइराला बताउनु हुन्छ । भाइरस प्रतिकारी जडिबुटी र उच्च फाइबरयुक्त भोजन गराइने गरेको छ । योग, ध्यान, सत्संग पनि नियमित हुने गरेको कोइराला बताउनु हुन्छ । यहाँको वातावरणले बिरामीको मनोबल उच्च भई बिरामीहरु शत प्रतिशत निको भएको डा. कोइरालाको भनाई छ ।
भरतपुर महानगरले सञ्चालन गरेदेखि आजका दिनसम्म प्राकृतिक चिकित्सालय प्रभावकारी रूपमा सञ्चालन भइराखेको र यहाँबाट निको भएर जानेहरुले आफुलाई निकै भाग्यमानी महसुस गर्ने गरेको आईसोलेसन केन्द्रका संयोजक तथा भरतपुर महानगर वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारीले बताउनु भयो ।
यस केन्द्रमा काम गर्ने चिकित्सक, कर्मचारीलाई पारिश्रमिक, बिमादेखि बिरामीहरुलाई खाना तथा यस केन्द्रको संचालनका लागि भरतपुर महानगरपालिकाले सम्पूर्ण ब्यवस्थापन गरेको महानगर प्रमुख रेनु दाहालले बताउनु भयो ।
बिरामीको उपचारमा प्राकृतिक उपचार पद्धति सार्थक साबित भएको दाहालको भनाई छ । योग र प्राकृतिक चिकित्सा पद्धतिलाई अझै ब्यापक र बिस्तार गर्न आफू लाग्ने समेत दाहालले बताउनु भयो ।
यो विश्वब्यापी महामारीसँग लडी महानगरवासीको जीवनरक्षाको लागि भरतपुर महानगरपालिकाले हरसम्भव प्रयास गरिरहेको बताउँदै मेयर दाहालले केन्द्र संचालनको लागि सबै प्ररकारको प्रबन्ध गरेको बताउनु भयो । उहाँले संघीय सरकारले कोभिडका बिरामीहरुको उपचार राज्यले नगर्ने भनेपनि भरतपुर महानगरपालिकाले यस केन्द्रमा उपचारको लागि आएका बिरामीहरुको पीसीआर परीक्षणदेखि उपचार निःशुल्क रुपमै गर्ने बताउनु भयो ।