वीरगन्ज १९ कार्तिक । कोरोना संक्रमण फैलिन सक्ने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरूले जोड दिइरहेका बेला वीरगन्जमा भने निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउन थालेका छन् । यहाँका केही निजी विद्यालयले सादा पोसाक र केहीले स्कुल पोसाकमै विद्यार्थी बोलाएर पठनपाठन सुरु गरेका हुन् ।
विद्यालयले बस सेवा भने सुरु गरेका छैनन् । केहीले मूल गेटमा तापक्रम जाँच्ने र विद्यार्थीको शरीरमा औषधि छर्केर निर्मलीकरण गर्ने गरेका छन् ।
विद्यालय सञ्चालनमा आउन थालेपछि विद्यार्थीको स्वास्थ्यसँग खेलबाड भएको अभिभावकले आरोप लगाएका छन् । वीरगन्ज पानीट्यांकी निवासी रोशन लामिछानेले निजी विद्यालयले कक्षा सञ्चालनमा हतार गरेको बताए । ठाकुरराम बहुमुखी क्याम्पसका उपप्रध्यापकसमेत रहेका लामिछानेले कोरोना महामारीका बीच विद्यालय सञ्चालन गर्ने सञ्चालकमाथि सम्बन्धित निकायको ध्यानाकर्षण र कारबाहीको मागसमेत गरे । ‘पहिलेदेखि नै विद्यालय खोल्ने कुरा चलिरहेको थियो, यहाँका अधिकांश स्कुलमा नेताहरूकै लगानी र संरक्षण छ,’ उनले भने, ‘बच्चालाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ?’ अभिभावक पनि सचेत र सतर्क हुन आवश्यक रहेको उनको भनाइ छ ।
जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुर भौतिक रूपमा विद्यार्थीलाई स्कुल नबोलाई कम्तीमा एक महिना अझै वैकल्पिक शिक्षा प्रणाली अपनाउनुपर्नेमा जोड दिन्छन् । ‘अहिले नै स्कुल खोल्न हतार गर्नु हुँदैन,’ उनले भने, ‘सुस्त रहेको संक्रमण चाडपर्व र जाडोयाममा वृद्धि हुने सम्भावना छ ।’ उनका अनुसार विद्यालय सञ्चालनमा ल्याउनु अगाडि संक्रमितका लागि सरकारी आइसोलेसन सेन्टर र निःशुल्क कोरोना परीक्षणको व्यवस्था मिलाउन आवश्यक छ । कान्तिपुर बाट