नारायण सापकोटा
माडी १८ कात्तिक । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवम् अध्ययन मण्डल ( श्री राम संस्था) अमेरिकाको संयुक्त आयोजना माडीको साविक अयोध्यापुरी गणेशकुञ्जमा मङ्गलबार ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु भएको छ ।
सोह्रौँ शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अवधि भाषामा लिखित हिन्दुहरुको ग्रन्थ श्री रामचरितमानस पुस्तकलाई तुल्सीराम शर्माले नेपालीमा सम शैली र सम छन्दमा जस्ताको तस्तै पद्य अनुवाद गर्नु भएको हो । सोही ग्रन्थको सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु भएको हो ।
एक दिवसीय साङ्गीतिक कार्यक्रमको उद्घाटन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले धार्मिक सहिष्णुताको विकास र कला संस्कृतिको संरक्षण गर्नमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायणले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ ।
यो साङ्गीतिक पाठपारायणले प्रधानमन्त्रीको सक्रियतामा अगाडि बढाइएको माडीमा रामधाम बन्ने योजनालाई पनि अगाडि बढाउन पहल गर्ने बताउँदै माडीमा रामधामको निर्माणले समग्र माडी विकासमा सहयोग पुग्ने भएकोले सबैलाई सहयोग गर्नसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको पूर्ण सफलताको लागि पठाउनुभएको लिखित शुभकामना सन्देश सुनाइएको थियो । लिखित शुभकामना सन्देशमा रामचरितमानस सुन्दर काण्डको साङ्गीतिक पारायण कार्यक्रम अयोजना गरिएकोमा खुशी व्यक्त गर्दै रामधाम निर्माणको अभियानमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।
कार्यक्रममा स्वर्गीय आमा पार्वती मल्ल आचार्यको स्मृतिमा छोरा हरिलाल आचार्यद्वारा नव निर्मित श्रीराम मन्दिरको पनि प्रमुख अतिथि ढकालले उद्घाटन गर्नु भएको थियो । श्रीराम संस्था अमेरिकाका अध्यक्ष थलराज पन्तले भर्चुवल शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कलाकार हरि योञ्जनले माडीका विशेषता र रामधाम निर्माणको अभियानमा जागरण ल्याउने गीत प्रस्तुत गर्नुभएको थियो ।
अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलको अध्यक्षतामा र माडी नगरपालिकाको समन्वयमा सम्पन्न साङ्गीतिक पाठपारायण कार्यक्रमको उद्घाटन समारोहमा श्रीरामजानकी अनुसन्धान एवम् अध्ययन मण्डल ( श्री राम संस्था) अमेरिकाका प्रतिनिधि पण्डित तुलसीराम शर्मा, सामाजिक व्यक्तित्व श्रीप्रसाद दवाडी, नेपाली काङ्ग्रेसका प्रतिनिधि शोभाकर चापागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने माडी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष शिवहरी सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
