काठमाडौं, १६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपासामु गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन् ।
आइतबार दिउँसो ट्विट गर्दै उनले पार्टीसामु गम्भीर सङ्कट उत्पन्न भएकाले पार्टी एकताको रक्षा गर्न सबैलाई आग्रह समेत गरेका छन् ।
आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न सबै नेता, कार्यकता र सदस्यहरुलाई अनुरोध गर्दै लेखेका छन्, ‘यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भिर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुसमक्ष अनुरोध गर्दछु ।’
नेकपाले सरकारको नेतृत्व लिएयता पार्टीभित्र कुनै न कुनै बहानामा विवाद सृजना हुँदै र गरिँदै आएको छ । जसका कारण सरकारले स्वतःस्फूर्त रुपमा काम गर्न सकेको छैन भने पार्टी एकीकरणको कामले समेत पूर्णता पाउन सकेको छैन ।
पछिल्लो पटक नेकपाको विवाद कर्णाली प्रदेशमा केन्द्रित हुँदै आएको छ । कर्णालीको मुख्यमन्त्री सम्बन्धी विवादसँगै नेकपामा संकट उत्पन्न भएको हो ।