नारायण सापकोटा
माडी १२ कार्तिक । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञावलीले बुधबार माडीका विभिन्न सुकुम्बासी बस्तीहरुको स्थलगत अवलोकन गर्नुभएको छ ।
सुकुम्बासी बस्तीहरुको स्थलगत अवलोकन गरी अध्यक्ष ज्ञवाली माडी नगरपालिकामा पुगेर माडीको भूमिसम्बन्धी समस्याको बारेमा जानकारी लिनुभएको थियो ।
भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्षसँगको भेटमा नगर प्रमुख ठाकुरप्रसाद ढकालले माडीको सुकुम्वासी समस्याका बारेमा जानकारी गराउँदै माडीमा तत्काल काम शुरु गर्न आग्रह गर्नुभएको थियो ।
आयोग अध्यक्ष ज्ञावलीले पनि काम अगाडि बढाउनको लागि नगर स्तरीय समन्वय समिति गठन गर्न आग्रह गर्दै १० महिनाभित्रमा माडीको सुकुम्बासी समस्या समाधान गर्ने उद्देश्यकासाथ काम गर्ने जानकारी गराउनुभएको थियो ।
बुधबार नै आयोग अध्यक्ष ज्ञवाली माडी ८ कान्तिपुरमा सञ्चालित सामूहिक खेतिको अवलोकन गर्दै कृषि क्रान्ति अनुसार काम भएको जनाउँदै समाजवादको नमूना योग्ग कार्य भएको बताउनुभयो ।
सोही अवसरमा अध्यक्ष ज्ञवालीले माडी ८ का सुकुम्वासीहरुसँग अन्तरक्रिया गर्नुभएको थियो भने माडी ८ मा रहेको नमूना बालविकास केन्द्रको निरीक्षणसमेत गर्नुभएको थियो ।
आयोगका अध्यक्ष ज्ञावलीले माडीका सुकुम्वासी बस्तीहरुको अवलोकन गरी १० महिनाभित्र काम सक्ने आश्वासन दिएपछि माडीका सुकुम्वासीहरु खुशी र उसाहित भएका छन् ।
