पूर्वीय संस्कृतिको रक्षा गर्न संस्कृत गुरुकुलको संरक्षण आवश्यक : सांसद पोखरेल

माधव सापकोटा/ चितवन ,२७ असोज  ।
चितवन क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले महान् पूर्वीय संस्कृतिको संरक्षण गर्न संस्कृत गुरुकुलको रक्षा हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ।उहाँले विश्वको पवित्र देवभूमि नेपालमा जन्म लिन पाउनु नै ठूलो भाग्य भएको र हाम्रा आहार-विहार पूर्वीय सभ्यता महान् रहेको जनाउँदै हामीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनुभएको छ ।           विशेष वास्तुकलाले युक्त जीर्णोद्धारात्मक श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर नव निर्माणकार्यको सम्पूर्ति एवम् अक्षयकोषका लागि सहयोग जुटाउने उद्देश्यले वर्तमान विषम परिस्थितिका कारण समयसापेक्ष ढंगले विशेषत: सञ्चारमाध्यमबाट दर्शन तथा प्रवचन श्रवण गर्न सकिने गरी  भरतपुर -४ लंंकुमा आयोजना गरिएको विश्व जनजागरणात्मक एकमासव्यापी श्रीमद्भगवद्-राम-कृष्ण-कथामृत ज्ञान महायज्ञ २०७७ मा सम्बोधन गर्दै बताउनुभएको हो। उहाँले मन्दिरद्वारा संचालित संस्कृत गुरुकुलका लागि सरकारबाट विशेष सहयोगका लागि पहल गर्नेसमेत प्रतिबद्धता गर्नुभएको छ।चरणगतरूपमा असोज १० गतेदेखि प्रारम्भ भएको र कार्तिक ९ गतेसम्म चल्ने यस महायज्ञको चौँथो चरणमा आजबाट असोज ३० गतेसम्म युवा विद्वान् डा.स्वामी चक्रपाणि आचार्यज्यूको प्रवचन सुरु भएको छ। मन्दिर निर्माण सहयोगार्थ २५१ जना आजीवन अभिभावकहरू पूर्ण भएपछि मन्दिर संचालनार्थ १५१ जना नव मन्दिर- संचालन-अक्षयकोष-संस्थापकहरू बनाउने गरी थप कार्यक्रम ल्याइएको र अहिलेसम्म ७५ जना अक्षयकोषका संस्थापकहरू बनिसकेको नव मन्दिर-सञ्चालन अक्षय कोष संस्थापन अभियानका संयोजक सावित्री कँडेलले जानकारी दिनुभयो। मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यज्यूको निर्देशकत्व तथा ईश्वरकृष्ण महाराजज्यूको प्रधान परामर्शकत्व र व्यवस्थापकत्वमा नेपालका विभिन्न ख्यातिप्राप्त कथावाचकहरूबाट प्रवचन भइरहेको टेलिभिजन, युट्युब, फेसबुक आदि सञ्चारमाध्यमबाट यज्ञ दर्शन र प्रवचन श्रवण गर्न सकिने यस कार्यक्रमप्रति आकर्षण बढिरहेको र देश-विदेशबाट वैदिक सनातन धर्मानुरागी जनहरूले अत्यन्त उत्साहपूर्वक सम्पर्क गर्दै सहयोग गरिरहेको महायज्ञ सम्पादन समितिका सदस्य रोमाकान्त कँडेलले बताउनुभयो।

शेयर गरौ

ताजा अपडेट