चितवन ,३ फागुन ।
स्वस्तिक नेपाल भरतपुरले १३ औ स्थापना दिवस तथा सातौ अधिवेशनको अवसरमा भरतपुर महानगरपालिकाका १८ जना सरसफाइकर्मीलाई आज सम्मान गरेको छ ।
भरतपुर ११ जागृतिचोकमा रहेको डावन क्रियशनमा आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरेको हो । भरतपुर महानगरलाई स्वस्च्छ र सफा राख्ने अभियानमा उहाँहरुको योगदान महत्वपूर्ण भएको स्वस्तिक नेपालले जनाएको छ । उहाँलाई गरेको सम्मान कार्यक्रमले सरसफाइकर्मीलाई थप हौसला मिल्ने विश्वास लिएको स्वस्तिक नेपालका पूर्व अध्यक्ष सुदीपसिंह अधिकारीले बताउनु भयो । समाज निर्माणमा हरेक क्षेत्र र वर्गका व्यक्तिको भूमिका हुने भएकाले सरसफाइकर्मीको योगदानलाई स्थान दिएको अधिकारीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले सरसफाइकर्मीलाई गरेको सम्मान कार्यक्रमले अरुपलाई पनि सकरात्मक सन्देश दिएको बताउनु भयो । स्वस्तिक नेपालको जस्तै फरक प्रकारको कार्यक्रम अरु संघसस्थाले आयोजना गर्नु पर्ने उहाले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव तथा चितवन समाचार डटकमका सम्पादक तीर्थ नेपालले स्वस्तिक नेपालले गर्दै आएको सामाजिक कार्यक्रमको प्रशंसा गर्नु भयो ।
सम्मानित सरसफाईकर्मी मध्ये एक वुद्धि सागर सुबेदीले सबैले हेप्ने गरेको बताउदै स्वस्तिक नेपालले सम्मान गरेकोमा आफु सरसफाईकर्मी हुँ भनेर भन्दा गर्व लागेको बताउनुभयो । कार्यक्रममा सरसफाईकर्मीहरुलाई टि–सर्ट,जुत्ता सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
स्वस्तिक नेपालका सस्थापक अध्यक्ष हिरामान महर्जनले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमा महासचिव वासुदेब दवाडीले सञ्चालन गर्नु भयो । वि.सं. २०६३ मा स्थापना भएको स्वस्तिक नेपालले स्वास्थ्य शिविर रक्तदान, सहयोग वितरण जस्ता सामाजिक काम गर्दै आएको छ । यसै बीच आज सम्पन्न अधिवेशनबाट भरत मल्लको अध्यक्षतमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा वासुदेव दवाडी, महासचिवमा विष्णु लम्साल, कोषाध्यक्षमा गोपाल भट्टराइ र सचिवमा नारायणप्रसाद कडेल चयन हुनु भइएको छ । सदस्यहरुमा हेमन्त केसी, नवराज फूयाल, कपिलसागर कर्मचार्य, विमल अधिकारी र रुद्रप्रसाद सापकोटा चयन हुनु भएको छ । कार्यक्रममा निर्वतमान अध्यक्ष बालकृष्ण कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।