चितवन २५ असोज । भरतपुरको वागेश्वारीमा रहेको आइसोलेसन सेन्टरबाट १४ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।
शनिबार भएको कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यमा उनीहरुलाई घर पठाइएको हो ।
योगी नरहरि नाथ योग तथा प्राकृतिक चिकित्सालयका प्रमुख डाक्टर हेमराज कोइरालाले नियमित व्ययाम, खानपिनमा ध्यान, योग साधनाले गर्दा कुनैपनि विरामीलाई अस्पतालमा भर्ना गर्न नपरेको जानकारी दिनु भयो । प्राकृतिक चिकित्सालयको आइसोलेसनमा भर्ना भएका कुनैपनि विरामी अहिलेसम्म जटिल अवस्था भएर अस्पतालमा जान नपर्नु ठुलो उपलब्धी भएको डाक्टर कोइराराले जानकारी दिनु भयो ।
कोरोनोलाई जितेर घर गएकालाई विदाइ गर्दै सभापति पोखरेलले प्राकृतिक उपचारको महत्व अझ व्यापक हुदै गएको बताउनु भयो । नेपालको माटो, यहाँको वनस्पति यहाँको पानी, यहाँ फल्ने फलफूल झारपात औषधि भएको बताउनु भयो । कोरोनालाई जित्न आत्मवलसंगै आफनो दिनचर्या खानपिन र व्यायामलाई ध्यान दिन अनुरोध गर्नु भयो ।
आइसोलेशन सेन्टरबाट विदाइ भएर गएकाहरुलाई विरुवा दिएर पठाइएको छ । ती विरुवा आफूले घरमा लागेर सार्नु पर्ने हुन्छ । प्रकृतिलाई माया गर्ने र वनस्पति हुर्काउनको लागि यो अभियान चलाइएको डाक्टर कोइरालाले जानकारी दिनु भयो । कार्यक्रममा चिकित्सालयका अध्यक्ष कमल मल्ल, शैलेन्द्र पियालगायतले मन्तव्य राख्नु भएको थियो ।
