माडी १० असोज । माडीमा अयोध्याधाम बनाउनको लागि उपयुक्त स्थान खोजी भइरहेको समयमा माडी ७ दक्षिणी भेगका बासिन्दाहरुले जग्गा उपलब्ध गराउन तयार भएपछि माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालको नेतृत्वको टोलीले आज स्थलगत अवलोकन गरेको छ ।
अवलोकन टोलीले स्थानीय वासिन्दाहरुसँग छलफल गर्दै स्थानको वास्तविक जानकारी लिएर जग्गाको दक्षिणतर्फ रहेको जङ्गल क्षेत्रमा रहेका स्थलहरुको पनि अवलोकन गरेको थियो ।
जग्गाको अवलोकन गर्दै माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले माडी ७ को जमिनलाई पनि प्रस्तावित स्थलको रुपमा लिएर अध्ययन अनुसन्धानको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने जानकारी दिनुभयो ।
माडीमा अयोध्याधाम बनाउनको लागि माडी नगरपालिकाले कृष्णनगर पार्क, दक्षिण अयोध्यापुरी र गणेशकुञ्जालाई सिफारिस गरेपछि माडी ७ पनि उपयुक्त उपयुक्त स्थल रहेकोले अनुसन्धान गर्नुपर्ने भन्दै स्थानीय वासिन्दाहरु समिति नै बनाएर विभिन्न छलफल र भेटघाट गरेका थिए ।
आज गरिएको स्थलगत अवलोकनको अवसरमा रामधाम निर्माणको लागि जग्गा खोजी गर्न बनेको स्थानीय समितिका संयोजक धर्मराज खनालले माडी ७ मा रामको जन्मभूमिका सम्बन्धमा उपयुक्त आधारहरु रहेकाले अनुसन्धान अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।
अवलोकन कार्यक्रममा माडी नगरपालिका वडा नं ७ का अध्यक्ष, बालकृष्ण सापकोटा, माडी ३ का अध्यक्ष पुरन महतो, माडी ४ का अध्यक्ष चन्द्रदिप महतो लगायत सामाजिक व्यक्तित्व र स्थानीय वासिन्दाहरुको उपस्थित रहेको थियो ।
यसैगरी यस अघि नै अयोध्या अध्ययन अनुसन्धान र व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल नेतृत्वको टोलीले माडी ७ मा रामधाम बनाउनको लागि स्थानीयले उपलब्ध गराउने जमिनको अवलोकन गरेको थियो । सो अवसरमा समितिका संयोजक पौडेलले रामधाम बनाउने विषयमा जागरूक भएर अगाडि बढ्नु सकारात्मक काम भएको जनाउँदै सम्भावित स्थलहरुको अध्ययन अनुसन्धान गरिने धारणा राख्नुभएको थियो ।