काठमाडौं, ३१ भदौं । भोलि (असोज १) गतेबाट लामो दूरीका सार्वजनि गाडी चलाउन यातायात व्यवसायी सहमत भएका छन् ।
आज विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले आफूहरु लामो दूरीका सवारी साधन चलाउन तयार रहेको बताएका हुन् । उनीहरुले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि दिए भोलिबाटै सेवामा जान कुनै समस्या नरहेको स्पष्ट पारेका छन् ।
व्यवसायी, यातायात मजदुर र मन्त्रालयबीच बस चलाउँदा पालना गर्नुपर्ने स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि साँझसम्म जारी गर्ने सहमति भएको छ । यसअनुसार यातायात व्यवस्था विभागले बुधबार नै मापदण्ड फाइनल गरेर सार्वजनिक गर्ने मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।
‘हामीले असोज १ देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने पहिले नै बताएका हौं’, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य भन्छन्, ‘व्यवसायीले पहिलेदेखि नै सञ्चालन गर्ने तयारी गरेकाले भोलिबाट चलाउन कुनै समस्या छैन ।’
उनले थपे, ‘हामीले सबै व्यवसायीलाई सकेसम्म अनलाइन टिकटको व्यवस्था गर्न भनेका छौं । केही व्यवसायीले अनलाइन टिकटको व्यवस्था गरे पनि केही तयारीमै हुनुहुन्छ । अब विस्तारै सबै अनलाइन टिकटिङको व्यवस्था हुन्छ ।’
सोमबारको मन्त्री परिषद बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । एक लाइनको सिटमा एक जना मात्रै यात्रु बस्ने गरी सेवा दिनुपर्ने सरकारको शर्त छ ।