चितवन, भाद्र २७ ।
लायन्स क्लब अफ भरतपुर इन्द्रेणीको आयोजनामा शनिबार बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षणको एक अभियानका रुपमा भरतपुर १८, शशिचोक स्थित एग्रो देउराली रिसोर्टको परिसरमा बृक्षारोपण गरिएको हो । क्लबका संस्थापक अध्यक्ष लायन द्रोण बाबु शिवाकोटीको अध्यक्षता एवं गैंडाकोट ५ का वडाध्यक्ष समेत रहनुभएका रिजन चेयर पर्सन लायन नवराज कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फलफुलका साथै अन्य विभिन्न प्रकारका बोट बिरुवाहरु रोपिएको छ ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी कंडेलले स्थापनाको पहिलो महिनामै इन्द्रेणीले उत्कृष्ट कार्यको आयोजना गरेको भन्दै खुसी ब्यक्त गर्नुभयो । साथै उहाँले लायन्स क्लब अफ भरतपुर इन्द्रेणी एक उदाहरणीय क्लब बन्नेमा आँफु विश्वस्त रहेको बताउँनुभयो । यस्तै, जोन चेयर पर्सन मेघराज कंडेलले लायन्सका मुल्य मान्यताका बारेमा स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष द्रोण बाबु शिवाकोटीले सबै बर्ग, तह र तप्कामा आबद्ध सदस्यहरु समेटिएकाले क्लब नामजस्तै वास्तबमै सप्तरंगी ईन्देणी भएको बताउँनुभयो । उहाँले आँफुले के प्राप्त गर्छु भन्नु भन्दा पनि संस्थामा आबद्ध भएपछि के दिन सक्छु भन्ने भावनाबाट उत्प्रेरित हुन सबैलाई आग्रह गर्नुभयो ।
क्लबका सचिव ओमकार सिग्देलले सहजीकरण गर्नुभएको कार्यक्रममा एग्रो देउराली रिसोर्टका ब्यवस्थापक शक्ति रोकाया, स्थानीय विश्व बिलास अधिकारी, कार्यक्रम संयोजक शर्मिला पाण्डे, क्लबका प्रथम उपाध्यक्ष विनोद मिश्र, द्वितीय उपाध्यक्ष दीप चन्द्र घिमिरे, कोषाध्यक्ष सिता पाण्डे, मेम्बरसिप चेयर पर्सन मुकुन्द भुसाल लगायत दर्जनौंको संख्यामा क्लबका चार्टर मेम्बरहरुको सहभागिता रहेको थियो । बृक्षारोपण कार्यक्रमका लागि सागर मह उद्योग गैंडाकोट र नव जागृति सामुदायीक बन भरतपुर ११ ले विभिन्न प्रजातीका बोट बिरुवा उपलब्ध गराएका हुन् ।
कार्यक्रम पछि क्लबको नियमित दोस्रो मासिक बैठक बसेको थियो । बैठकले प्रत्येक महिनाको पहिलो शनिबार साँझ नियमित मासिक बैठक बस्ने निर्णय गरेको चार्टर मेम्बर सरोज खरालले जानकारी दिनुभयो ।