माडी बन्ला त अयोध्याधाम ? : बहसमा धार्मिक व्यक्तित्वहरु

नारायण सापकोटा
अयोध्याधाम माडीमा बनाउने विषममा माडीमा मात्र होइन् देशभर नै चर्चा र बहसको विषय बनेको छ । अयोध्या र रामको विषयमा अनुसन्धान गर्नको लागि साविक अयोध्यापुरी गाविसका अध्यक्ष नारदमणि पौडेलको संयोजकत्वमा अयोध्या अध्ययन अनुसन्धान र व्यवस्थापन समिति गठन भएर अनुसन्धानको काम अगाडि बढिरहेको छ । माडी नगरपालिको कार्यपालिका बैठकले अयोध्याधाम बनाउनको लागि दक्षिण अयोध्यापुरी, कृष्णनगर पार्क र गणेशकुञ्जाको स्थानलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ भने वडा नं ७ मा पनि अनुसन्धान हुनपर्नेु माग पनि रहेको छ । आस्था र विकासका दृष्ट्रिकोणबाट हेर्दा राजनीतिक दल, व्यवसायी, धार्मिक व्यक्तित्व, समामाजिक व्यक्तित्वहरुका विचारहरु समान नै आएका छन् । अयोध्याधाम निर्माण गर्दा माडीका समग्र विकासका योजनाहरु पनि गुरु योजनाकै रुपमा अगाडि बढाउनुपर्छ भन्ने सुझाव आइरहेका छन् । अनुसन्धान र बहस चलिरहँदा आएका विचारहरुलाई सङ्कलन गरी सार्वजनिक गर्ने सम्बन्धमा यसपटक धार्मिक व्यक्तित्वहरुका विचारलाई समावेश गरिएको छ । अनुसन्धान र छफफल अगाडि बढिरहेकोले आवश्यकता अनुसार आएका तार्किक र नयाँ विचारहरुलार्ई सार्वजनिक गर्दै जाने लक्ष्य पनि रहेको छ । 
श्री १००८ स्वामी डा.रमणानन्द गिरिजी महाराज ,पिठाधीश महेश सँस्कृत गुरुकुल एवम् महेश संस्कृत आश्रम ,देवघाट –                                               रामको जन्मभूमिका सम्बन्धमा अध्ययन अनुसन्धान भइरहेको अवस्थामा नेपालमा पनि अध्ययन अनुसन्धानको काम अगाडि बढ्नु स्वागतयोग्य कार्य हो । हाम्रो देशका धार्मिक तथा पुरातात्विक महत्वका स्थलहरुको संरक्षण र विकास गर्ने हो भने देश नै धाम बन्ने आधारहरु धेरै छन् । देशमा धर्म संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ सम्माननीय प्रधानमन्त्रीले गर्नुभएको पहलले सकारात्मक सन्देश दिएको छ । यो विकाससँग जोडिएको विषय हो यसबाट देशको समग्र विकासमा सहयोग पुग्छ भन्ने मलाई लागेको छ । हामीले चाहेको नै रामको जस्तो आदर्श राज्य नै हो । रामधाम निर्माणको कार्यले देशमा सुशासन स्थापना गर्ने विषयमा पनि सहयोग पुग्ने मलाई विश्वास लागेको छ ।
चितवनको वाल्मीकि आश्रम र जनकपुरबीचमा पर्ने विभिन्न स्थानहरुहरुको अध्ययन गर्दा रामले विभिन्न समयमा भ्रमण गरेका हुन् भन्ने सम्भावित आधारहरु देखिन्छ । त्यहाँ रहेका स्थलहरुको वृहत अध्ययनले नयाँ तथ्य पत्ता लाग्ने सम्भावना पनि रहेको छ । तर,वाल्मीकि रामायणमा वर्णन भएका स्थानहरुलाई अध्ययन गर्दा राम जन्मेको चितवन माडीकै अयोध्यापुरीमा हो भन्ने तथ्य र आधार भेटिएको छैन् । खोज र अनुसन्धानबाट राम चितवनकै अयोध्यापुरीमा जन्मेका हुन भन्ने आधार पत्ता लाग्यो भने हामी नेपालीको लागि गौरव गर्ने विषय बन्नेछ । 
                                                                       पण्डित महेश्वर पौडेल, माडी ५ चितवन –        माडीमा रामधाम बनाएर नेपालको धर्म संस्कृतिको विकास गर्दै पर्यटकहरुको लागि आकर्षको केन्द्र बनाउने उद्देश्यले प्रधानमन्त्रीज्युले गर्नुभएको पहल स्वागतयोग्य काम हो । भारतमा पनि रामको जन्मभूमिकै सम्बन्धमा मतान्तर भइरहेको सन्दर्भमा नेपालमा हो भनेर अध्ययन अनुसन्धान हुनु आवश्यकताको विषय पनि होे । यो विषयमा विवाद नगरी अनुसन्धान कार्यमा सहयोग गर्नुपर्छ ।
माडीका धार्मिक, तथा पुरातात्विक महत्वका विषयलाई आधार मान्ने हो भने पनि रामको जन्म माडीमा भएको हुनसक्ने आधारहरु धेरै छन् । यो विषय पर्यटन विकास गर्ने आधार भएको हुनाले वाल्मीकिदेखि जनकपुरसम्मका धार्मिक स्थलहरुको विकास गर्ने योजनासहित काम अगाडि बढाउनुपर्छ ।                                                 
पण्डित लिलकण्ठ सापकोटा, सोमेश्वर मन्दिरका स्थापनाकर्ता , माडी ४ चितवन–                         हाम्रो मौलिक संस्कृति र धर्मको संरक्षण गर्दै माडीको विकास गर्ने उद्देश्यले प्रधानमन्त्रीज्युले गर्नुभएको रामधाम निर्माण गर्ने विषय हाम्रो लागि खुशीको विषय हो । यसबाट माडीमा रहेका सबै धार्मिक स्थलहरुको संरक्षण हुन्छ भन्ने मलाई लागेको छ । धार्मिक स्थलहरुको संरक्षण र विकासमा हामी लागिरहेको अवस्थामा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति माडी विकास गर्ने आधार हो जस्तो लाग्छ ।
जहाँ कला, संस्कृति र धर्म बलियो हुन्छ त्यहाँ विकास पनि छिटो हुन्छ । त्यसैले माडीका समग्र धार्मिक स्थलहरुको संरक्षण गरी माडीको विकासमा लाग्नुपर्छ । धर्म संस्कृतिको विकासले शान्ति र मेलमिलाप पनि कायम हुन्छ । यो विषयमा विवाद नगरी सदुपयोग गरेर अगाडि बढ्नुपर्छ ।     
प्रेमप्रसाद उपाध्याय, माडी १ चितवन–                   देशमा मन्दिर धाम बनाएर धर्म संस्कृतिको संरक्षण गर्दै देशको विकास गर्ने उद्देश्यले प्रधानमन्त्रीबाट रामधामको विषयमा अभिव्यक्ति आउनु राम्रो विषय हो । धाम निर्माण गर्ने कार्यसँगै धार्मिक स्थलहरुको संरक्षण र विकासमा जोड दिनुपर्छ । भगवानको नामसँग जोडिएका स्थलहरु नेपालमा धेरै छन् । नामकै आधारमा भन्दा पनि अनुसन्धाले प्रमाणित गर्नुपर्छ ।
राम माडीमै जन्मेका हुुन भनेर प्रमाणित गर्ने आधार भेट्न सकिएको छैन् । यो विषय प्रमाणित भएर जन्ती लिएर जनकपुर जाने व्यवस्था गर्ने मानिस वीर हुन्छ । मन्दिर बनाएर धाम बनाएर विकासको काम गर्नु राम्रो कुरा हो । माडीमा धेरै धार्मिक स्थलहरु छन् तिनीहरुको विकास गर्ने योजना ल्याउनुपर्छ ।             
पण्डित खिलानाथ सापकोटा, माडी १ चितवन– माडीमा अयोध्याधाम निमार्ण गर्न प्रधानमन्त्रीज्युबाट भएको पहल माडीबासीका लागि मात्र नभएर देशबासीकै लागि गौरवको विषय हो । समग्र देशकै विकासको विषय हो ।माडीमा त्रिवेणी धाम, गोद्धक, सोमेश्वर,उत्तरवाहिनी नदीहरु, अयोध्यापुरी,बाँदरभुला, रामराज्यपुर आदि पौराणिक विषयसँग जोडिएका स्थलहरु हुन् । यी स्थलहरुलाई अध्ययन गर्दा रामधाम निर्माण गर्न सकिने धेरै आधारहरु रहेका छन् ।
रामधाम बनाउने योजना ल्याउँदा माडीका तीर्थस्थलहरुको मात्र होइन समग्र विकास गर्ने योजना ल्याउनुपर्छ । प्रधान्मन्त्रीज्युको पहल माडी विकासको अवसर हो । त्यसैले यो अवसरको सदुपयोग गरी माडीको समग्र विकासमा ध्यान दिनुपर्छ ।                                            
मक्सुन मिया ठकुराई, अध्यक्ष मदिना मस्जिद माडी ३ चितवन–                                                 प्रधानमन्त्रीले माडीमा रामधाम बनाउनको लागि गर्नुभएको पहल धार्मिक विकास र धार्मिक सहिष्णुताका हिसाबले महत्वपूर्ण कार्य हो । यो विषयले हिन्दुको मात्र होइन सबै धर्मको विकासको आधार हो । माडीको विकास गर्ने अवसर हो । धार्मिक स्वतन्त्रता र सहिष्णुता भएको देशमा एउटा धर्मको विकास हुँदा अर्को धर्मको विकास हुँदै जाने विषय हो । यसले धर्महरुबीच विवाद ल्याउँछ कि भन्नु सङ्कीर्ण सोचाइ हो ।
धर्मको विकास गर्दै शान्ति स्थापना गर्नु पर्ने आवश्यकता रहेको समयमा सरकार प्रमुखबाट धर्म संस्कृतिको संरक्षण गर्ने कार्यको पहल हुनु खुशीको विषय हो । यसले समग्र माडीको विकास गर्दै धार्मिक सद्भाव विकास गर्न सहयोग गर्छ । प्रधानमन्त्रीले गरेको पहल समग्र विकाससँग सम्बन्धित विषय भएकोले माडीका सम्पूर्ण मुस्लिम समुदायले सक्दो सहयोग गर्न तयार छ । 
                                                                 हरिप्रसाद पौडेल, माडी ५ चितवन–         प्रधानमन्त्रीले धाम बनाउनको लागि गर्नुभएको योजना राम्रो छ । यो विषयले मलाई खुशी लागेको छ । रामधामको निर्माणले विदेशीहरुको आकर्षण बढ्छ र विकास पनि हुनुका साथै हाम्रो धर्म कला संस्कृतिको संरक्षण पनि हुन्छ ।
धर्म भनेको विकास , चेतना नैतिकतासँग जोडिएको विषय हो । त्यसैले मन्दिर, धाम बनाएर विकास गर्नु भनेको मानिस इमान्दार न नैतिकवान बनाउने विषय पनि हो । त्यसैले पनि रामधाम निर्माण आवश्यक छ ।
माडीमा विभिन्न धार्मिक स्थलहरु रहेको छन् । तिनीहरुको संरक्षण र विकास हुन सकेको छैन । रामधामको योजनाले समग्र धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण र विकास गर्नुपर्छ ।          
लालकाजी गुरुङ, अध्यक्ष छेसाङ् बौद्ध गुम्बा माडी १ चितवन–                                                     सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको रामधाम निर्माण गर्ने विषय माडीको लागि खुशीको विषय हो । यसले समग्र माडीको विकासमा गर्छ भन्ने लागेको छ । यो विषय धर्मको मात्र होइन विकाससँग जोडिएको विषय हो । यसको माध्यमबाट माडी विकासको आधार तयार गर्नुपर्छ ।
हिन्दुधर्म र बौद्धधर्मबीच आपसी सद्भाव र मेलमिलाप रहेको छ । यो विषयले सबै धर्मसँग धार्मिक सहिष्णुता कायम हुन्छ । यो विषयका कारण माडीका अन्य विकासहरु पनि अगाडि बढ्छन् भन्ने मलाई लागेको छ ।     
धनबहादुर सुनार, पाष्टर, प्रतिज्ञा चर्च बसन्तपुर माडी चितवन–                                                         माडीमा अयोध्याधाम बन्ने विषय धार्मिक , सामाजिक विकासका दृष्ट्रिकोणले माडी विकासको अवसर हो भन्ने लाग्छ । अयोध्याधाम बनाएर धार्मिक पुरातात्विक महत्वका स्थानहरुको संरक्षण र विकास गर्ने उद्देश्य लिनु सकारात्मक कार्य हो । धार्मिक स्वतन्त्रता र सहिष्णुता भएको देशमा एउटा धर्मको संरक्षण र विकास हुँदा अर्को धर्मलाई असर हुन्छ भन्ने प्रश्नै आउँदैन । सबै धर्मको विकास हुँदै जाने विषय हो ।
यतिबेला प्रधानमन्त्रीले नै अग्रसरता लिएको विषयलाई अगाडि बढाउन माडीबासी एक हुनुपर्छ । यसलाई माडी विकासको माध्यमको रुपमा लिनुपर्छ ।

शेयर गरौ

ताजा अपडेट