चितवन २६ भदौ । कोरोना संक्रमणबाट चितवनका एकजनाको मृत्यु भएको छ भने एकै दिन ७१ जनामा संक्रमण पुष्टी भएको छ ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना हुनु भएको उहाँ २४ गते दिउँसो उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । मृत्युपछि शुक्रबार बिहान आएको पीसीआर नतिजामा उहामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो सँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
एकै दिन भरतपुर महानगरमा मात्रै ६५ जना जिल्लामा ७१
शुक्रबार एकैदिन चितवनमा ७१ जनामा कोरोना संक्रमण भएको छ । त्यस मध्य सबै भन्दा धेरै भरतपुर महानगरपालिका भित्रका रहेका छन् । भरतपुर महानगरपालिकामा मात्रै शुक्रबार ६५ जनामा कोरोना संक्रमण भएको छ ।
भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका भित्र ३१ जनामा कोरोना संक्रमण भएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनु भयो । यो प्रयोगशालमा अन्य जिल्लाका समेत गरेर ३४ जना संक्रमित भएको जानकारी दिएको थियो ।
यहा गरिएको परीक्षणमा एकसय ५६ को नमुना स्वावबाट ३४ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेको हो । अन्य जिल्लाका ३ जनामा कोरोना भाइरस संक्रमण भएको छ । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहनु भएको छ । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका हुनुहुन्छ । यस्तै महिलाहरु २४ देखि ५४ वर्ष उमेरको रहेको प्रयोगशाला प्रमुख डाक्टर अधिकारीले जानकारी दिनु भयो ।
यस्तै गरी चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा जिल्लामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्य भरतपुर महानगरपालिकाका मात्रै ३४ जना रहेका छन् । जसमध्ये भरतपुर–१० का मात्रै ९ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जना रहेका छन् । चितवनमा शुक्रबार विहानसम्म कुल संक्रमितको संख्या १२ सय नजिक पुगेको छ ।